Logo
Logo

आफ्ना विचौलियाहरूलाई नियन्त्रणमा राख्न प्रधानन्यायाधीशलाई आग्रह



काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफ्ना विचौलियाहरूलाई नियन्त्रणमा राख्न प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई आग्रह गरेका छन् ।

दुई साताभन्दा लामो समयदेखि प्रधानन्यायाधीशको राजीनामा माग्र्दै आन्दोलनरत बारका पदाधिकारी तथा कानुन व्यवसायीले आइतबार पनि विरोध जारी राखेका छन् । सर्वोच्चको भित्रपट्टीबाट मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायीलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले आफ्ना विचौलियालाई नियन्त्रणमा राख्न जबरालाई आग्रह गरेका हुन् ।

प्रधानन्यायाधीश जबरालाई कानुन व्यवसायीको आन्दोलनमा बिचौलिया घुसपैठ गराएर आन्दोलन असफल पार्ने चेष्टा नगर्न उनले आग्रह गरे । ‘तपाईंका बिचौलिया नियन्त्रणमा राख्नुस्’ उनले भने, ‘घुसपैठ गराएर आन्दोलनलाई असफल पार्ने चेष्टा नगर्नुस् ।’

गत शुक्रबार अदालतको बाहिरबाट मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायीहरु आइतबार अदालत भित्रपट्टीबाट धर्नामा बसेका छन् । आन्दोलनको विरोधमा रहेका प्रधानन्यायाधीश जबराका समर्थकले भने बाहिरबाट प्रदर्शन गरिरहेका छन् ।

मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ गतेदेखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको हो । तर, प्रधान्यायाधीश जबरा राजीनामा नदिने अडानमा छन् ।

प्रतिक्रिया दिनुहोस्