Logo
Logo

कानुन व्यवसायीको प्रदर्शनदेखि मूल्यवृद्धि फिर्ता गर्न मागसम्म



हेडलाइन्स्:

१. प्रधानन्यायाधीशको राजीनामा माग्दै कानुन व्यवसायीद्वारा देशभर प्रदर्शन, नेपाल बार एसोसिएसनद्वारा सर्वोच्च अदालत परिसरमा धर्ना, जबराको राजीनामा मात्रै अबको निकास रहेको बारका अध्यक्ष चण्डेरश्वर श्रेष्ठको भनाइ, जबराको समर्थनमा सडक निस्किएका ५० जनाभन्दा बढी पक्राउ ।

२. नेपाली कांग्रेसले पार्टीको आसन्न १४औं महाधिवेशन अन्तर्गत प्रदेश समितिको अधिवेशनका लागि सातवटै प्रदेशमा संयोजक तोक्यो, प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, वागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडुलाई जिम्मेवारी ।

३. सर्वोच्च अदालतमा देखिएको समस्याले न्यायिक सर्वोच्चता र स्वतन्त्र न्यायपालिकाको अवधारणामा संकट पैदा भएको नेकपा (एकीकृत समाजावादी)को निष्कर्ष, संकट समाधानका लागि राजनीतिक दल, न्याय क्षेत्र र सरोकारवाला पक्षहरुबीच एकीकृत अवधारणा बनाउन अपिल, कम्युनिष्ट आन्दोलनको पुनःगठन तथा एकीकरणको प्रयास अझै सशक्त रुपमा अघि बढाउने निर्णय ।

४. नेकपा एमालेले ५८ जिल्लामा छान्यो महाधिवेशन प्रतिनिधि, खुल्ला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधि छनोट गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईको भनाइ, ३० कात्तिकसम्ममा प्रतिनिधि चयन गरी केन्द्रमा सम्पूर्ण अभिलेख पठाउन निर्देशन ।

५. आगामी चुनावमा गठबन्धन गर्नेबारे कसैसँग कुनै सहमति नभएको सभापति शेरबहादुर देउवाको भनाइ, कांग्रेसले एक्लै चुनाव लड्न सक्ने, गठबन्धन दलहरुबीच बनेको राजनीतिक समन्वय समिति राष्ट्रियसभा चुनावसम्ममात्रै सक्रिय हुने धारणा ।

६. पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा खाली सिलिण्डर बोकेर सत्तारुढ विद्यार्थी संगठनद्वार प्रदर्शन, मूल्यवृद्धि फिर्ता लिन एकीकृत समाजवादीको माग, अखिल क्रान्तिकारीद्वारा घन्टाघर अगाडि प्रदर्शन, प्रदर्शन नियन्त्रण गर्न खोज्दा खोज्दा घम्साघम्सी ।

७. १२ वर्षमाथिका दीर्घ रोगीलाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाउन सुरु, खोप अभियान मंसिर चार गतेसम्म चल्ने, देशभर २४ वटा खोप केन्द्र, मंसिर २७ गतेदेखि पुस ४ गतेसम्म दोस्रो डोजको खोप दिइने ।

८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घट्यो, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.२५ प्रतिशतले उकालो लाग्यो, बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएपछि नेपाल राष्ट्र बैंकद्वारा पुनः एकीकृत निर्देशन–२०७७ मा संशोधन, ब्याजदरबारे नयाँ सर्कुलर जारी ।


९. आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिम कतार प्रस्थान, नेपाल क्रिकेट संघ क्यानद्वारा विदाई, विश्व कोरियन एम्बासडर अनलाइन पुम्से तेक्वान्दोको स्वार्ण नेपालका सुबान गुरुङलाई, एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि महिला टोलीले अभ्यास थाल्यो ।

१०. सुरक्षा कारबाहीमा महाराष्ट्रमा २६ नक्साल विद्रोही मारिए, इक्वेडरको कारगारमा भएको झडपमा परी कम्तीमा ६८ जनाको मृत्यु, कारागारभित्रकै दुई समूहबीच झडप, यमनको मारिब र अल–बायदा प्रान्तमा हुथी विद्रोहीविरुद्ध साउदी नेतृत्वको गठबन्धनले गरेको हवाई आक्रमणमा परी १८६ जना मारिए, नौ सरकार समर्थन सैनिक मारिएका सरकारी अधिकारीहरूको भनाइ ।

प्रतिक्रिया दिनुहोस्