
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही दिन सार्वजनिक कार्यक्रममा सहभागी नहुने भएका छन् ।
चिकित्सकहरुले प्रचण्डलाई केही दिन कोहीसँग पनि भेटघाट नगर्न सुझाव दिएका हुन् । स्वास्थ्यमा क्रमिक सुधारपछि प्रचण्ड आइतबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
देशका विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुने क्रममा धपेडीले गर्दा रक्तचाप बढेपछि प्रचण्डको स्वास्थ्य परीक्षणका लागि शनिबार ललितपुरस्थित मेडीसिटी अस्पतालमा भर्ना भएका थिए ।
उनको स्वास्थ्यमा सुधार देखिएपछि घरमै आराम गर्न सुझावसहित डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । उच्च ज्वरोपछि अस्पताल पुगेका प्रचण्डलाई मंसिर १ गतेसम्म आराम गर्न चिकित्सकले सुझाव दिएका हुन् ।
भेटघाट र कार्यक्रममा दौडधुप बढी भएपछि प्रचण्डलाई चिकित्सकले यस्तो सुझाव दिएको स्रोतको भनाइ छ ।











