Logo
Logo

सर्लाहीमा एमाले प्रतिनिधि छनोटमा मनोमानी


7.5k
Shares

सर्लाही । नेकपा (एमाले) १०औँ महाधिवेशनका लागि सर्लाहीमा मनोमानी भएको छ । एमाले सर्लाहीका युवा नेता चन्द्रभुषण साहले सर्लाही जिल्लामा मनोमानी रुपमा प्रतिनिधि छनोट गर्ने काम भएको जनाएका छन् ।

आसन्न महाधिवेशनमा आफुहरुको चुन्ने र चुनिन पाउने अधिकारलाई पार्टीका सर्लाही जिल्ला पदाधिकारीहरुले स्वेच्छाचारीशैलीमा अलोकतान्त्रिक, असमावेशी र एकताको मर्म विपरीत हामीलाई निश्तेज गर्दै कुण्ठित गरेका नेता साहको जिकिर छ ।

‘यस स्वेच्छाचारी गलत कदमप्रति हाम्रो सर्लाही जिल्लाका अधिकांश नेता–कार्यकर्ताहरुको असहमति, असन्तुष्टि र आक्रोश रहेको विषयबारे हामीहरुले प्रदेश पदाधिकारी र सम्बन्धित जिल्ला नेतृत्वलाई समेत जानकारी गराईसकेका छौँ । त्यसैले, यसमा चाँडै नेतृत्वले सुधारात्मक कदम चाल्ने हाम्रो अपेक्षा छ’ साहले भने ।

चितवनमा हुने एमालेको १०औँ महाधिवेशनका लागि शनिबार देशैभरी एकै दिन प्रतिनिधि छनौट गर्ने कार्यक्रम रहेको थियो । एमालेले ६० भन्दा बढी जिल्लामा सर्वसम्मत प्रतिनिधि छनोट भएको जनाएको छ । तर, धेरै जिल्लामा अझै विवाद नै रहेको उनले बताए । माओवादी केन्द्रबाट एमाले प्रवेश गर्नेलाई प्रतिनिधिमा रोक्न काम जिल्ला जिल्लामा भइरहेको छ ।

‘नेकपा (एमाले)को आसन्न ऐतिहासिक एकताको १०औँ राष्ट्रिय महाधिवेशनका लागि सर्लाही जिल्ला क्षेत्र नं. १, २ र ४ बाट प्रतिनिधि छनौट कार्य बाहिर कथित प्रचारमा ल्याइरहेको जस्तो कुनै सर्वसहमतिबाट नभई अवैधानिक, अलोकतान्त्रिक, एवं चोरबाटोबाट विधिप्रक्रिया समेत पूरा नगरीकन स्वेच्छाचारी (मनोगत), असमावेशी, एकताको मर्मविपरीत निश्तेज गर्दै, छलछाम एवं षडयन्त्रपूर्ण ढंगबाट जबरजस्ती भएको विषय सम्बन्धित सबैमा जानकारी गराईन्छ’ साहले फेसबुकमा लेखेका छन् ।

त्यसैगरी, एमालेका प्रदेश कमिटी सदस्य सुशील थपलियाले पनि एमालेको सर्लाही जिल्लामा पुरानै हुकुमीशैली कायम नै रहेकोप्रति आक्रोश व्यक्त गरेका छन् । ‘नेकपा एमाले सर्लाही क्षेत्र नं १ को प्रतिनिधि छनौट कार्य सर्वसम्मत नभएर जबरजस्ती भयो’ थपलियाले फेसबुकमा लेखेका छन् ।

एमालेको १०औँ महाधिवेशनमा १९ सय ९९ प्रतिनिधि सहभागि हँुदैछन् । दुई सय ६३ जना पदेन प्रतिनिधि रहेका छन् । १७ सय ३६ प्रतिनिधि विभिन्न ठाउँबाट निर्वाचित भएर आउनुपर्ने हुन्छ ।

आउँदो १०, ११ र १२ मंसिरमा चितवनमा महाधिवेशन हुँदैछ। ललितपुरको गोदावरीमा हालै सम्पन्न भएको एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्था अनुसार दशौँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष, बरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव जना गरी १५ जना पदाधिकारीसहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

केन्द्रीय सदस्यमा खुलातर्फ ९८, समावेशीतर्फ ६६ र भूगोलतर्फ ४६ जना गरि २ सय १० जना केन्द्रीय सदस्य निर्वाचित गर्ने छ । यसैगरी महाधिवेशनले १५ सदस्यीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगको पनि चयन गर्नेछ । एक तिहाई महिलासहित नेपालको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व हुने गरी केन्द्रीय कमिटी समावेशी गर्ने व्यवस्थामा विधान छ ।

एमालेले १० मंसिरमा नारायणी नदीको किरानामा उद्घाटन र सौराहामा नेतृत्व छनोटका लागि बन्दसत्र सञ्चालन गर्ने तयारी गरेको छ । ११ गते मनोनयन र प्रतिनिधिहरुलाई इभिएम मतदान गर्न अभ्यास र १२ गते मतदान हुने मुल व्यवस्थापन समितिका सदस्य एवं एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताईन् ।

प्रतिक्रिया दिनुहोस्