Logo
Logo

अनियमिततामा एआजीलाई जोगाइयो



काठमाडौं । नेपाल प्रहरीको अस्पतालमा संगठित रुपमा हुँदै आएको अनियमिततालाई प्रहरी प्रधान कार्यालयले पनि प्रश्रय दिएको छ । सतही छानबिन गरेर अस्पतालकी एआइजी डा आशा सिंहलाई जोगाउने काम भएको छ ।

सिंह अस्पतालको प्रमुख भएपछि खासगरी खरिदमा भ्रष्टाचार बढेको छ । कोभिडको समयमा प्रशस्त बजेट आउँदा पनि त्यसको दुरुपयोग गरेको खुलेपछि प्रहरी प्रहरी प्रधान कार्यालयले एआइजी विश्वराज पोखरेलको नेतृत्वमा छानबिन गरेको थियो । तर, सो समितिले साना तिना मात्र अनियमितता देखाएर एआइजी सिंहलाई जोगाउने भूमिका खेलेको स्रोत बताउँछ ।

कतिसम्म भने प्रहरी अस्पतालमा एमआरआई मेसिन बिग्रिएको करिब डेढ वर्ष भइसकेको छ । प्रहरी कर्मचारी र उनका आफन्तहरु महगो शुल्क तिरेर निजी अस्पतालमा एमआरआई गराउन बाध्य छन् । तर, अस्पताल प्रमुख एआइजी आशा सिंहले यसको कुनै चिन्ता छैन । कमिसन नमिल्दा यसको खरिदमा चासो दिइएको छैन । एमआरआई मर्मतमा चासो नदिएर एआइजी सिंहले लेजर मेसिन खरिद गरेको र त्यो पनि स्टोरमा थन्काएर राखिएको छ । अस्पताललाई आवश्यक नभएपनि कमिसनमै लोभमा करिब सवा करोड रुपैयाँमा सो मेसिन खरिद भएका स्रोत बताउँछ ।

अहिले कोरोना महामारीको समय भएकाले सरकारले अस्पताललाई प्रशस्त बजेट दिएको छ । जुन बजेट अनावश्यक सामान खरिद गरेर सिध्याउने खेल भइरहेको छ । एमआरआई मेसिन मर्मत नगराएर नयाँ एमआरआई मेसिन खरिद गराउन समेत अस्पतालमा एक समूह सक्रिय छ ।

त्यसो त महामारीको समयमा भ्याक्सिन लुकाउँदा करिब चार सय डोज भ्याक्सिन समेत खेर गएको अस्पताल स्रोत बताउँछ । आफू निकट व्यक्तिहरुलाई लगाउन एआइजी सिंहले भ्याक्सिन लुकाएको आरोप छ । अस्पतालमा कतिसम्म लापरबाही छ कतै दर्ता नै नभएको औषधी भिटामिन सी भन्दै अस्पतालले खरिद गरेर बिरामीहरुलाई वितरण गरिएको थियो ।

अस्पतालभित्र बिलिङमै समेत अनियमितता हुने गरेको छानबिनमा खुलेको छ । बिलिङको पैसा रिफन्ड गरिएको देखाएर ठूलो रकम हिनामिना हुँदै आएको छ । बिलिङ शाखामा लामो समयदेखि अमृता न्यौपाने र संगिता कार्कीलाई मात्र जिम्मेवारी दिएर यस्तो अनियमितता हुँदै आएको हो । यसमा कम्प्युटर शाखाका हाकिम कपिल भट्टराई समेत मिलेका छन् ।

लेखा शाखामा बदमासी त्यस्तै छ । विगतमा समेत भ्रष्टाचारमा मुृिछएका सइ दीपक थापा र लेखापाल हिराबहादुर केसी मिलेर खरिदमा सेटिङ मिलाउने गरेका छन् । अस्पतालमा कुनै पनि सामान किन्दा कम्तीमा १० प्रतिशत कमिसन लेनदेन हुने गरेको छ । गत वर्ष अस्पताल परिसरका रुख काटिएकोमा त्यो बिक्रि गर्दा समेत अनियमितता भएको थियो । औषधी तथा अन्य स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको छानबिन समितिले पनि औंल्याएको छ । तर, सुधारका लागि निर्देशन दिएर एआजीलाई जोगाइएको छ । त्यसो त एआइजीकै कारण अस्पतालभित्र गुटबन्दी समेत बढेको छ । एआइजी सिंह र डिआइजी डा मिनराज पाठकबीच अस्पतालमा विवाद रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्