काठमाडौं । सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशले बैठक आज बस्दैछ । उनीहरुले बैठकमा बसी फुलकोर्ट राख्न प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई आग्रह गर्ने भएका छन् ।

न्यायपालिका शुद्धीकरण र विसंगति अन्त्यका लागि भन्दै दुई सातायता बेञ्च बहिस्कार गरी सर्वोच्चका न्यायाधीश तथा नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार एशोसिएसनलगायत कानुन व्यवसायी आन्दोलनरत छन् । तर, आन्दोनका बीच प्रधानन्यायाधीशले राजीनामा नदिइ इजलास तोक्दै आएका छन् । उनी आन्दोलनकै बलमा राजीनामा नदिने अडानमा रहेका छन् ।
असन्तुष्ट समूहमा रहेका पाँच न्यायाधीशले सोमबार सर्वोच्चको पूर्ण बैठकबाहेक अन्य विषयमा छलफलका लागि अन्य न्यायाधीश वा बार एशोसिएसन लगायतका टोलीसँग छलफलमा नबस्ने घोषणा गरेका थिए ।
बहुमत न्यायाधीशले गोलाप्रथाका माध्यमबाट पेसी व्यवस्थापन गरी नियमित इजलासमा बस्ने तयारी गरेका छन् । सर्वोच्च अदालत नियमावलीअनुसार प्रधानन्यायाधीशले पेसी तोक्ने व्यवस्था छ ।














