Logo
Logo

सिभिल सहकारी ठगी प्रकरणमा थप ३३ जनाविरुद्ध जाहेरी



काठमाडौं । सिभिल सहकारी ठगीसँग सम्बन्धित थप ३३ जनाविरुद्ध प्रहरीमा जाहेरी परेको छ । यसअघि सिआइबीमा एक हजार चार सय ४२ पीडितले जाहेरी दिइसकेका छन् ।

सहकारीको रकम अपचलनमा साझेदारी देखिएपछि पीडितले थप ३३ जनाविरुद्ध जाहेरी दिएका हुन् । प्रहरीका अनुसार जाहेरीमा उल्लेखित अभियुक्त सहकारीको सञ्चालक समितिमा रहेकाहरूको परिवारका सदस्य र पूर्वकर्मचारी समेत रहेका छन् । जाहेरी परेलगत्तै उनीहरूविरुद्धको खोजीकार्यलाई सुरु गरेको प्रहरीले जनाएको छ । तर, हालसम्म कोही पनि पक्राउ परेका छैनन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का डिआइजी धीरजप्रताप सिंहका अनुसार संगठित ठगी अभियोगमा थप ३३ जनाविरुद्ध जाहेरी परेपनि अहिलेसम्म उनीहरु पक्राउ परेका छैनन् । उनीहरूको खोजीकार्य तीव्र पारेको उनले बताए ।

प्रहरीका अनुसार पीडितले सहकारीका संस्थापक अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य, छोरीहरू प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङ, निवर्तमान अध्यक्ष केशवलाल श्रेष्ठकी श्रीमती मीनाकुमारी श्रेष्ठ, छोरा प्रवेशलाल र छोरी सृष्टि श्रेष्ठविरुद्धको जाहेरीलाई पहिलो प्राथमिकतामा राखेका छन् ।

सिआइबीमा पीडितले दिएको जाहेरीमा संगठित तवरले निक्षेपकर्ताको सात अर्ब रुपैयाँभन्दा धेरै रकम ठगी गरेको भन्दै ब्युरोले गत १८ असोजमा सहकारीका संस्थापक अध्यक्ष तथा पूर्वसांसद इच्छाराजसहित १२ जनालाई पक्राउ गरेको थियो । उनीहरूविरुद्ध प्रहरीको अनुसन्धान जारी छ ।

प्रतिक्रिया दिनुहोस्