Logo
Logo

विश्वासको मत माग्दै मुख्यमन्त्री राईले भने- ‘मिलेर जाउँ’



विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सत्ता पक्ष र विपक्ष मिलेर जानुपर्ने बताएका छन् । बुधबार प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्दैै उनले सबै राजनीतिक दल मिलेर गएमात्र विकास हुने बताए ।

प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले बुधबारको बैठकमा प्रदेश प्रमुखको सूचना पढेर सुनाएपछि मुख्यमन्त्री राईले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए । प्रस्ताव टेबल गर्दै मुख्यमन्त्री राईले प्रदेश सांसदहरुलाई विश्वासको मत दिन आग्रह गरे ।

उनले प्रतिपक्षका सांसदहरुले पनि आफुलाई मत दिने मनसायले हिजोको बैठक आजका लागि सार्न अनुरोध गरेको आफुले बुझेको बताए ।
‘सबै माननीयले मलाई मत दिनुहुन्छ भन्ने मैले ठानेको छु’, प्रस्ताव पेशपछि मुख्यमन्त्री राईले भने । आफ्नो नेतृत्वको सरकार विशिष्ट राजनीतिक परिस्थितिका कारण बनेको भन्दै मुलुकको परिवर्तन र संविधानलाई कमजोर पार्ने प्रयत्न भएकाले आफ्नो नेतृत्वको सरकार संविधानको रक्षाका निम्ति बनेको बताए ।

यसअघि मंगलबार राईले प्रस्ताव पेश गर्ने तय भएपनि विप्लव समूहको बन्दका कारण बैठक बस्न नसक्दा बुधबारको बैठकमा पेश भएको हो । संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश नं १ को प्रदेशसभा नियमावलीको नियम १२८ को उपनियम (४) बमोजिम नियुक्त भएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

सोहीअनुसार कार्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए राईले विश्वासको मत लिन लागेका हुन् । ९२ सदस्यीय प्रदेशसभामा राईलाई विश्वासको मत पाउन ४६ सांसदको आवश्यक पर्छ ।

प्रदेशसभाबाट मंगलबार विश्वासको मत लिने तयारीमा रहेका मुख्यमन्त्री राईको योजना संसद बैठकमा टेबल हुनै नपाई बैठक स्थगित भएपछि विश्वासको मत लिने योजना असफल बनेको थियो । प्रदेश १ मा नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पाँच दलीय गठबन्धनको समर्थनमा राई मुख्यमन्त्री बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्