
काठमाडौं । नेकपा (एमाले) १०औं महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशबाट भएको प्रतिनिधि छनोटमा पार्टीका उपाध्यक्ष भीम रावलले असन्तुष्टि व्यक्त गरेका छन् ।
पार्टी सदस्यता वितरण, नविकरण तथा प्रतिनिधि चयनमा पार्टीको विधि, पद्धति र निर्णय विपरीतका क्रियाकलाप भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधि चयनको कुनै विधिवत प्रक्रियाबिना धनगढीबाट प्रतिनिधिको नाम घोषणा गरिएको भन्दै उनले आलोचना समेत गरेका छन् ।
‘१०औं राष्ट्रिय महाधिवेशन स्वच्छ र निष्पक्ष किसिमले हुनुपर्छ भन्ने सबैको चाहना र पार्टीको आवश्यकता हो । तर, यस्तो चाहना र आवश्यकताविपरीत कतिपय स्थानमा पार्टी सदस्यता वितरण, नविकरण तथा प्रतिनिधि चयनमा पार्टीको विधि, पद्धति र निर्णय विपरितका क्रियाकलाप भएका छन्’ बुधबार रावलले विज्ञप्ति जारी गर्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
कैलाली लगायतका कतिपय जिल्लामा सदस्यता वितरण, नविकरण र प्रतिनिधि चयनमा भइरहेको बेथितिबारे आफूले पार्टी बैठकमा कुरा राखे पनि त्यसको सुनुवाइ नभएको दुखेको गरेका छन् ।
‘मैले पार्टीका बैठकमा कुरा उठाउनुका साथै पार्टी अध्यक्ष र संगठन विभाग प्रमुखलाई जानकारी गराई त्यस्ता क्रियाकलाप रोकी विधि र पद्धतिसम्मत किसिमले काम गर्न निर्देशन हुन मैले मात्र होइन अरूबाट पनि माग गरिएको थियो । तर, त्यस्ता गतिविधि रोकिएको देखिएन’ रावलले भने, ‘यसको ज्वलन्त उदाहरण कैलाली जिल्लाको निर्वाचन क्षेत्र नम्बर २, लम्कीचुहा नगरपालिकामा प्रतिनिधि चयनमा भएको चरम स्वेच्छाचारी कार्यलाई लिन सकिन्छ । बिडम्बना, प्रतिनिधि चयनको कुनै विधिवत् प्रक्रिया बिना धनगढीबाट कथित प्रतिनिधिको नाम घोषणा गरिएको छ ।’
यसका विरूद्ध उक्त क्षेत्रका १२ सय बढी पार्टी सदस्यहरूले हस्ताक्षर गरी पार्टीमा उजुरी समेत गरेको उनले बताए ।
‘यसको पार्टी अध्यक्ष र संगठन विभागबाट सुनुवाइ होस् र पार्टीको निर्णय–निर्देशनविपरीत कथित प्रतिनिधि चयन रद्द गरी विधिसम्मत् किसिमले प्रतिनिधिको चयन गरियोस’ रावलले भने । पार्टीले फुटको सामना गरिरहेको बेला उक्त प्रकारका क्रियाकलाप हुनु अत्यन्त दुःखद रहेको बताउँदै उनले भने, ‘यसले पार्टीलाई गम्भीर क्षति पु¥याउँछ ।’
एमाले कैलाली जिल्ला अध्यक्ष रतन थापा पक्षले बनाएको कमिटी विधानविपरीत र मनलाग्दी बनाइएको भन्दै बुधबार अर्को पक्षले संगठित सदस्यको भेला गरी प्रतिनिधि छानेको छ ।
मंसिर १०–१२ गतेसम्म चितवनमा हुन गइरहेको दसौं राष्ट्रिय महाधिवेशनमा कैलाली क्षेत्र नम्बर २ बाट ६ पुरूष र ३ महिला गरी जम्मा ९ जना प्रतिनिधि छनोट गर्ने कात्तिक २९ गते कार्यक्रम तय भएको थियो । त्यसका लागि निर्वाचन मण्डल पनि गठन भएको थियो ।
प्रतिनिधि बन्न ४१ जनाले उम्मेदवारी पनि दिएका थिए । उनीहरूमध्येबाट ९ जना छनोट हुनुपर्नेमा सहमति भएको थिएन ।
सहमति नभएपछि निर्वाचनमा जानुको सट्टा आफ्ना परिवारका मान्छेलाई समेटेर कैलाली जिल्ला अध्यक्ष रतन थापाले एकलौटी रूपमा प्रतिनिधि छनोट गर्न खोजेपछि विरोध गरिएको अर्को पक्षको भनाइ छ ।
रतन थापा पक्षले कैलाली क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) का महाधिवेशन प्रतिनिधिमा स्वयं उनीसहित टीका थापा, कमला कुमारी ओली, डेजी पाण्डे, नरबहादुर खड्का, पदमपूरा साउद, गजेन्द्र स्वार, धरम थापा मगर र दलबहादुर बिष्टलाई चयन गरेको छ ।
अध्यक्ष थापाले छनोट गरेका मध्येका एक डेजी पाण्डेले दुबै प्रक्रियाबाट प्रतिनिधि छनोट नभएपछि ३० गते हुने भनिएको चुनाव बन्दका कारण रोकिएको बताए ।
‘बन्दले चुनाव भएन, यहाँ रहेका २९ जना जिल्ला कमिटीका सदस्य सबै र निर्वाचन समितिका पदाधिकारीको रोहबरमा चुनावको सम्भावना छैन भरेर सर्वसम्मत छनोट गर्ने माइनट नै भएको छ’ उनले भने ।
एमाले केन्द्रीय उपाध्यक्ष रावल पक्षले छुट्टै प्रतिनिधि छनोट ग¥यो भने पनि त्यो मान्य नहुने उनले बताए । ‘उहाँहरूसँग पनि छलफल भएको हो । विकल्प दिएर यसरी जाऊँभन्दा पनि उहाँहरू आउनुभएन,’ उनले भने ।
तर, अर्को पक्षले यज्ञराज ढुंगाना, मनोज थ्यायत खड्का, सूर्यबहादुर थापा, वीरेन्द्र रावल, भीम कुँवर, रूप रावल, गंगा थापा, बसुन्धरा भण्डारी र ममता रावललाई प्रतिनिधि सर्वसम्मत छनोट भएको दाबी गरेको छ ।
ढुंगानाले प्रतिनिधि छनोटका लागि सहमति नभएपछि निर्वाचनमा जानुपर्नेमा मनलाग्दी आफ्नी श्रीमतीलाई पनि समेटेर पदाधिकारी छानेको आरोप लगाए।
‘आफ्नो भाइलाई नगर कमिटीमा राख्ने, परिवारलाई महाधिवेशन प्रतिनिधि बनाउने लोभका कारणले केही निर्विरोध गर्न नसकेर उहाँ (रतन थपा) ले धनगढी गएर पत्रकार सम्मेलन गर्नुभयो’ उनले भने ।
ढुंगानाले १२ सय ३३ मतदाताका बीचमा आफूसहितका ९ जना प्रतिनिधि छनोट गरिएको दाबी गरे । ‘हामी विधि र पद्धति अनुसार जानुपर्छ, व्यक्ति प्रधान होइन’ उनले भने ।
विधानमा प्रस्ट सर्वसहमति नभए निर्वाचन गरिनुपर्ने भनिएकोमा त्यसो नभएको भन्दै उनले विरोध जनाएका छन् । ‘निर्वाचन पनि आधिकारिक हुनुपर्छ, राष्ट्रिय सम्मेलन महाधिवेशनमा जानेहरू संगठित सदस्यबाट चुनिनुपर्छ’ उनले भने ।
ढुंगाना कैलालीको अघिल्लो जिल्ला अधिवेशनमा एमाले अध्यक्ष ओली पक्षबाट जिल्ला सचिवमा लडेका थिए । उनी २० मतले पराजित भएका थिए ।
‘मलाई भीम रावल पक्षको भन्नु गलत हो । अहिले पार्टीमा गुट छैन। गुट बनाउने माधव नेपाल गइसक्नुभयो’ उनले भने । पार्टी नेतृत्वबाट विधि पद्धति मिच्ने काम भएको उनको गुनासो छ ।
‘चुनाव गर्न किन डराउने, जबज मान्ने हामीले स्वच्छ राजनीति गर्नुपर्छ । यो त राजाले अञ्चलाधीश नियुक्ति गरेजस्तो भयो’ उनले भने । समानान्तर कमिटीमै रहेका वीरेन्द्रबहादुर रावलले ‘चुनाव गर्दिनँ, घोषणा आफैं गर्छु’ भन्नु गलत भएको बताए ।
कैलाली–२ दलित कलस्टरबाट जानुपर्ने छोडेर ५ हजार ३ सय १८ जनाबाट ९ जना चुनिनुपर्ने हो ।












