Logo
Logo

प्रचण्ड-विप्लवबीच भेटवार्ता, छिट्टै पार्टी एकता गर्ने प्रयास



फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

प्रचण्ड निवास खुमलटारमा शनिबार विहान भएको भेटमा प्रचण्ड र विप्लवबीच आगामी दिनमा सहकार्य गर्ने विषयमा छलफल भएको छ ।
केही दिनयता माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच पार्टी एकताको विषयमा छलफल चल्दै आएको छ । प्रचण्ड र विप्लवबीच तत्काल सहकार्य गर्ने र छिट्टै पार्टी एकता गर्ने विषयमा छलफल भएको छ ।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले यसको पहल गर्दै आएका छन् । शनिबार बिहान पनि महराले नै विप्लवलाई प्रचण्ड निवास खुमलटार लगेर गएको स्रोताले बतायो ।

तत्कालीन नेकपा माओवादी विभाजन भएपछि मोहन वैद्य ‘किरण’सँगै विप्लव पनि अलग भएका थिए । पछि उनी वैद्यबाट पनि अलग भएका हुन् । विप्लवले २०७१ साल मंसिर १३ गते चितवनमा अलग्गै भेला गरी आफ्नो नेतृत्वमा नयाँ पार्टी गठन गर्ने निर्णय गरेका थिए ।

२०७५ फागुन २८ गते विप्लव नेतृत्वको पार्टीलाई सरकाले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारसँग २०७७ फागुन २१ गते तीन बुँदे सहमति गरेर विप्लव शान्तिपूर्ण राजनीतिमा फर्किएका थिए ।

शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लवले प्रायः सबै राजनीतिकज्ञसँग भेटवार्ता गरिसकेका छन् । सरकारले प्रतिवन्ध हटाएर शान्तिपूर्ण राजनीतिमा कृयाशील भए पनि विप्लव नेतृत्वको नेकपा निश्चित नीति तथा कार्यक्रम तय गरेर अगाडि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्