Logo
Logo
एमालेको १०औं महाधिवेशन

पूर्वमाओवादीको डिमाण्ड : पाँच पदाधिकारी र २० केन्द्रीय सदस्य



काठमाडौं । अबको एक सातामा नेकपा (एमाले)ले आगामी पाँच वर्षका लागि नेतृत्व चुनिसक्छ । त्यसैले नेताहरु नेतृत्व हत्याउन अनेक खेलमा जुटेका छन् । सबैको आ–आफ्नै तयारी छ ।

पुराना एमालेलाई आफ्नै धरातल भएकाका कारण सहजै होला । तर, नयाँ एमालेलाई भने भनेजस्तो सहज छैन । अर्थात, भर्खरै एमाले भएका पूर्वमाओवादीलाई सोचेजस्तो सहज छैन ।

एमाले र गुट पर्यायवाचीजस्तै हो । अहिले प्रतिस्पर्धाकै हैसियतमा गुटहरु सक्रिय त छैनन् तर, भित्रभित्रै गुटहरुले राम्रै काम गरिरहेका छन् । सबैभन्दा शक्तिशाली गुट ‘ओली गुट’ नै हो । त्यसैले अन्य समूह वा गुटलाई सहज छैन ।

पार्टी विभाजन हुँदा आफ्ना कार्यकर्ता गुमाएपनि तेस्रो धारका नेतासँग केही न केही कार्यकर्ता त पक्कै छन् । किनकि, उनीहरु पुराना एमाले हुन् । तर, भर्खरै प्रवेश गरेका नयाँ एमालेसँग भने कार्यकर्ता छैनन् । यस कारण उनीहरुलाई सहज छैन भन्ने विश्लेषण हुने गरेको छ ।

पछिल्लो समय देशभरका कार्यकर्ताबाट चुनिएका महाधिवेशन प्रतिनिधि हेरेर पूर्वमाओवादी नेता अतालिएका छन् । किनकि, औँलामा गन्न सकिनेमात्र पूर्वमाओवादी धारका प्रतिनिधि चुनिएका छन् ।

भोटिङ हुने अवस्थामा ती नगन्य प्रतिनिधिको मतले जितका लागि अर्थ राख्न सक्दैन । त्यसैले, यतिखेर सबैको चासो पूर्वमाओवादी नेतामा छ । उनीहरुको व्यवस्थापन कसरी होला भन्ने सबैको चासो हो ।

महाविधवेशन मुल व्यवस्थापन समितिको संयोजकका रुपमा पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’ले जिम्मेवारी पाएका छन् । यसरी हेर्दा अध्यक्ष केपी शर्मा ओलीले पूर्वमाओवादीलाई व्यवस्थापन गर्न खोजेको जस्तो देखिन्छ ।

तर, परिवेश सोचजस्तो नहुन सक्छ । किनकि, पूर्वमाओवादी नेतामा पनि नेतृत्व आकांक्षी धेरै छन् । भएकालाई व्यवस्थापन गर्न नसक्ने अवस्थामा रहेका ओलीले नवआगान्तुकलाई व्यवस्थापन गर्न सहज देखिन्न ।

सहमितमै नेतृत्व चुन्ने वातावरण बने केही पूर्वमाओवादी नेताको व्यवस्थापन हुनसक्छ । किनकि, पदाधिकारी चयन सहमतिमै हुने सम्भावना छ । तर, केन्द्रीय सदस्य भने सहमतिमा चुन्न सहज छैन । किनकि, आकांक्षी धेरै हुँदा सहमतिमा नेतृत्व चुन्ने सम्भावा हुँदैन ।

मतदानबाटै चुन्नुपर्ने हुन्छ । मतदानबाट केन्द्रीय सदस्य चुन्नुपर्ने अवस्था आए पूर्वमाओवादीबाट एकजना पनि केन्द्रीय सदस्य निर्वाचित नहुने अवस्था आउनसक्छ । त्यसैले पूर्वमाओवादी समूह ‘बार्गेनिङ’मा लागेको छ ।

पाँच पदाधिकारीसहित २० केन्द्रीय सदस्यको दाबी
सहमति र मतदान दुवै प्रकृयामा असुरक्षित महसुस गरिहरेको पूर्वमाओवादी समूहले डिमाण्ड भने राम्रै गरेको छ ।

१०औँ महाधिवेशनबाट निर्वाचित हुने १५ सदस्यीय पदाधिकारीमा पूूर्वमाओवादी समूहले पाँच पदाधिकारी माग गरेको छ । त्यतिमात्र होइन, २१० केन्द्रीय सदस्यमा पूर्वमाओवादीले आफ्नो समूहबाट कम्तिमा २० जना हुनुपर्ने भन्दै आएको छ । एमालेको वर्तमान १९६ सदस्यीय केन्द्रीय कमिटीमा पूर्वमाओवादीबाट आएका २५ जना केन्द्रीय कमिटी सदस्य छन् ।

पूर्वमाओवादीले भनेको पाँच पदाधिकारीमा रामबहादुर थापा ‘बादल’ वरिष्ठ उपाध्यक्ष, टोपबहादुर रायमाझीले उपाध्यक्ष, लेखराज भट्ट, मणि थापा र प्रभु साह सचिवका आकांक्षी हुन् ।

पूर्वमाओवादी नेताले ५ पदाधिकारी र २० केन्द्रीय सदस्य ‘डिमाण्ड’ गरेपनि उनीहरुले संगठित रुपमा हस्तक्षेत्र गर्ने वातावरण छैन । किनकि, पूर्वमाओवादी भनेर सबैलाई ट्याग भएपनि उनीहरु अन्य समूहजस्तो एक छैनन् । त्यसैले उनीहरु एक्लाएक्लै लबिङमा जुटेका छन् । एक–एक गर्दै अध्यक्ष ओलीसँग भनेटेर आकांक्षा राख्ने गरेका छन् ।

उचित व्यवस्थापन नभए बिद्रोह
पूर्वमाओवादी नेताले आन्तरिक रुपमा अध्यक्ष ओलीलाई उचित व्यवस्थापन नभए बिद्रोह गर्ने सम्मको चेतावनी दिँदै आएका छन् ।

ओलीकै लागि माओवादीबाट बिद्रोह गरेको बताउँदै आएका यी नेताले एमालेमा सही मुल्यांकन तथा जिम्मेवारी नपाएर अन्य कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने वा अर्कै हिसाबले सोच्नेसम्मको निष्कर्ष निकालेका छन् ।

ओली निकट एक नेताका अनुसार संकटमा साथ दिएको भन्दै ओली पनि पूर्वमाओवादीलाई व्यवस्थापन गर्न इच्छुक देखिन्छन् । ‘पूर्वमाओवादी नेताको उचित व्यवस्थापनबारे अध्यक्ष कामरेड चिन्तित हुनुहुन्छ । उहाँहरुले महाधिवेशनबाट उचित जिम्मेवारी पाउँनुहुन्छ’ ति नेताले भने, ‘तर पदाधिकारी नपाए बिद्रोह नै गर्ने सम्मको उहाँहरुको चेतावनीले अलिकति असहज चाहीँ बनाएको छ ।’

पूर्वमाओवादी नेताले ओलीलाई चेतावनी दिएको भनिएता पनि उनीहरुले पद सुरक्षित गर्न मात्र यस्तो भन्ने गरेको व्याख्या हुने गरेको छ ।

सर्वसम्मत नेतृत्वमा पूर्वमाओवादीको जोड
यसपटक एमालेमा सबै पदाधिकारी सर्वसम्मत निर्वाचित गर्नुपर्ने पक्ष बलियो छ । त्यसमा पनि पूर्वमाओवादी नेताको जोड धेरै छ । मतदान भए पराजित हुने डरका कारण उनीहरुले सर्वसम्मत नेतृत्व चुन्नुपर्ने विषयमा लबिङ गरिरहेका छन् । मुख्य नेतृत्व सर्वसम्मत निर्वाचित भए पदाधिकारी पनि सर्वसम्मत नै हुने र आफूहरु सुरक्षित रहने उनीहरुको निष्कर्ष हो ।

अध्यक्ष दावेदारसँग पूर्वमाओवादीको बिन्ती !
पछिल्लो समय उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उपमहासचिव घनश्याम भुसाल पनि अध्यक्षमा उम्मेदवारीका लागि तयारीमा जुटेका छन् ।

यी दुईले अध्यक्ष नजिते पनि उम्मेदवारी दिँदा सबै माहोल बिग्रने पूर्वमाओवादीको विश्लेषण हो । त्यसैले रावल र घनश्यामलाई फकाउन पूर्वमाओवादी नेता सक्रिय भएका छन् । पूर्वमाओवादी नेताले एकताको सन्देश दिनुपर्छ भन्दै रावल र भुषालसँग धेरैपटक संवाद गरिसकेका छन् ।

पूर्वमाओवादीले सहमतिमै नेतृत्व चुनेर एकताको सन्देश दिनुपर्छ भने पनि रावल र भुसाल भने कन्भिन्स भएका छैनन् । पूर्वमाओवादी नेताकै बलमा आफूहरुलाई पाखा लगाउने काम ओलीबाट भएको बुझेका रावल र भुसाल ओलीलाई सहजै अध्यक्ष बन्न दिने पक्षमा छैनन् । त्यसैले एमालेमा पूर्वमाओवादीदाई सहज देखिन्न ।

एमालेको १०औं महाधिवेशनमा मंसिर १०, ११ र १२ गते चितवनमा हुँदैछ । एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्था अनुसार १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, बरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव जना गरी १५ जना पदाधिकारीसहित २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्