Logo
Logo

बुहारीको हत्याको आरोपमा हिरासतमा रहेकी वृद्धाको मृत्यु



बझाङ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेकी एक वृद्धाको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका–२ की ७७ वर्षीया विष्णादेवी रावल हिरासत कक्षमै बेहोस भएपछि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान एक्कासि बेहोस भएकी रावललाई जिल्ला अस्पताल सिमखेत लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानबहादुर बिष्टले बताए ।

उनका अनुसार बिहान चिया खाने क्रममा रावल बेहोस भएकी थिइन् । उनलाई अस्पताल पुऱ्याएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए । रावल र उनका छोरा जयबहादुर कर्तव्य ज्यान मुद्दामा गत कात्तिक २० गतेदेखि प्रहरी हिरासतमा थिए ।

जयबहादुरकी श्रीमती कात्तिक ७ गते झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनका माइती पक्षले आमाछोरा मिलेर हत्या गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्