Logo
Logo

सोलुखुम्बु कांग्रेस अधिवेशन : सभापति उम्मेदवार तीनै जनाले जितेनन्, फेरि निर्वाचन हुने



सोलुखुम्बु । नेपाली कांग्रेस आसन्न १४औँ जिल्ला अधिवेशनअन्तर्गत बिहीबार सम्पन्न निर्वाचनबाट जिल्ला सभापतिबाहेक जिल्ला कार्यसमितिका ३६ पद चयन भएका छन् ।

गत बिहीबार सम्पन्न मतदानको गणना शनिबार राति सकिएसँगै जिल्ला सभापतिबाहेकका समिति र महाधिवेशन प्रतिनिधि चयन भएको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको निर्वाचन निर्देशिकाअनुसार सभापति पदमा तीन जनाको उम्मेदवारी परेका खण्डमा कुनै पनि सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत पुर्‍याउनुपर्ने व्यवस्थाअनुसार नेतृत्व चयन हुन नसकेको बताइएको छ ।

यस्तो अवस्थामा जिल्ला सभापतिका लागि पुनःसहमति या निर्वाचनमा जानुपर्ने बाध्यता रहेको निर्वाचन समितिले जनाएको छ । सभापतिका लागि नाम्गेल जाङ्बु शेर्पा, विनोदकुमार बस्नेत र रामबहादुर बस्नेतको उम्मेदवारी परेको थियो ।

९२४ जना क्षेत्रीय प्रतिनिधिमध्ये जिल्ला अधिवेशनका लागि भएको निर्वाचनमा ८८२ मत खसेको थियो । मत परिणामअनुसार सभापतिका उम्मेदवार शेर्पाले ४१८ र विनोदकुमार बस्नेतले ४२८ र रामबहादुर बस्नेतले पाँच मत प्राप्त गरेका छन् ।

खसेको मतमध्ये ५१ प्रतिशत मत कसैले पनि ल्याउन नसक्दा कि सहमति नभए पुनः मतदानबाहेक विकल्प नभएकाले पुनःमतदानमा जानुपर्ने निर्वाचन अधिकृत कैलाश गुरुङले जानकारी दिए ।

जिल्ला कार्यसमितिको उपाअध्यक्षसहितको अधिकांश पदमा भने विनोदकुमार बस्नेत समूहबाट विजयी भएका छन् । उपसभापतिमा घनराज सुनुवार र फुदोर्जी शेर्पा, सचिवमा भलाकाजी कुलुङ र युवराज घिमिरे, सहसचिवमा ङिमाछिरी शेर्पा र उत्रमान राई विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

यसमध्ये सहसचिव उत्रमान राई शेर्पा समूहका हुन् भने अन्य सबै बस्नेत समूहका हुन् । सभापतिमा सहमति नभएका खण्डमा आज नयाँ मतदानको मिति तोकिने जनाइएको छ ।

यस्तै निर्वाचन प्रणालिमार्फत २५ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । जसमा संस्थापनइतर पक्षका २१ जना निर्वाचित भएका छन् । निर्वाचित हुनेमा प्रकाशसिङ कार्की, आङछिरिङ शेर्पा, आङ्गेलु शेर्पा, खिलराज बस्नेत, कुशराज राई, भोजराज कार्की, मङ्गलसिङ तामाङ, नातिकाजी गुरुङ र मनोज खड्काले ३८८ मत प्राप्त गरेका छन् ।

यस्तै प्रत्यक्ष महिलातर्फ एका कुमारी बस्नेत, गीता गुरुङ, छिण्डील्हमू शेर्पा र रिना उप्रेती निर्वाचित भएका छन् छ भने खस आर्यतर्फ प्रभुराम बस्नेत, आदिवासी जनजाति प्रतिनिधि खुलातर्फ आङकाजी शेर्पा, जीवन गुरुङ, ढलबहादुर मगर र महेन्द्र दीप राई निर्वाचित भएका छन् ।

आदिवासी जनजाति महिलातर्फ गान्धीमाया तामाङ, फुर्कीमा शेर्पा र विमला गुरुङ निर्वाचित भएका छन् । दलित प्रतिनिधिमा धर्मबहादुर दर्जी, मधेसी, थारू, अल्पसङ्ख्यकतर्फ अशोककुमार झा र अल्पसङ्ख्यक वा अपाङ्गतातर्फ लोकेन्द्रबहादुर बस्नेत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्