Logo
Logo

‘रामदेवको टेभि गैरकानुनी, प्रधानमन्त्रीले उद्घाटन गर्नु आपत्तिजनक’



काठमाडौं । बाबा रामदेवको पतञ्जली योग पिठले नेपालमा टेलिभिजन च्यानल सञ्चालन गर्न लागेको र त्यसको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको विषयमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रोशन पुरीले आइतबार एक विज्ञप्ति जारी गर्दै महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । कानुनले सञ्चारमाध्यममा विदेशी लगानीलाई निषेध गरेको अवस्थामा भारतको पतञ्जली योग पिठले टेलिभिजन खोल्नु कानुनको ठाडो उल्लंघन भएको विज्ञाप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ– ‘नेपालको प्रचलित कानुनले सञ्चारमाध्यममा विदेशी लगानीलाई निषेध गरेको अवस्थामा भारतको पतञ्जली योग पिठले टेलिभिजन खोल्नु कानुनको ठाडो उल्लंघन भएको छ। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले विदेशी लगानी खुल्ला नगरिएका उद्योग वा व्यवसायको सूचीमा आमसञ्चारमाध्यमहरूलाई राखेको कानुनी प्रवन्धप्रति महासंघ सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’

स्वदेशी सञ्चारमाध्यमको व्यावसायिकतामाथि आँच पुग्ने गरी सञ्चार क्षेत्रमा विदेशी लगानी आएको भन्दै महासंघले नेपालको राष्ट्रियता, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पार्न सक्ने प्रभावप्रति सबै गम्भीर र संवेदनशील हुन आवश्यक रहेको निष्कर्षसमेत निकालेको छ।

महासंघले कानुनविपरीत सञ्चार क्षेत्रमा विदेशी लगानी रोक्न र स्वदेशी लगानीका सञ्चारमाध्यमलाई प्रतिस्पर्धात्मक तथा व्यावसायिक रूपमा विकास गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्