Logo
Logo
एमालेको १०औं महाधिवेशन

सर्वसम्मत अध्यक्ष हुने ओलीको सपना चकनाचुर



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी १०औं महाधिवेशनबाट सर्वसम्मत पुनः अध्ययक्ष हुने चाहना राखेका थिए । तर उपाध्यक्ष डा. भीम रावलले आगामी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेसँगै ओलीको सर्वसम्मत अध्यक्ष हुने चाहना चकनाचुर भएको छ ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर उपाध्यक्ष रावलले १०औं महाधिवेशनमा आफूले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । घोषणासभामै उनले अध्यक्षका प्रतिस्पर्धी ओलीलाई अब विश्राम लिन सुझाव समेत दिए । साथै उनले अध्यक्षमा आफूलाई समर्थन गर्न ओलीलाई आग्रह समेत गरेका छन् ।

९औं महाधिवेशनमा ओलीले कक्षा नदोहोर्याउने भनेका थिए । तर ७० पुग्न लागेका ओलीले आफू अनुकुल विधान संशोधन र व्याख्या गराउँदै पुनः अध्यक्ष सर्वसम्मत हुने चाहना राखेका थिए । एमालेको विधानमा ७० वर्ष पुगेपछि सक्रिय राजनीतिबाट विदा लिनुपर्ने प्रावधान रहेको थियो । तर ओलीले हालै सम्पन्न एमालेको प्रथम विधान महाधिवेशनबाट आफू अनुकुल विधान संशोधन गराउन सफल भए ।

‘आफू अनुकुल विधान संशोधन गराउँन सफल कमरेड केपी शर्मा ओलीको पुनः सर्वसम्मत अध्यक्ष हुने चाहना अब पुरा हँुदैन् । कमरेड भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेपछि सर्वसम्मत अध्यक्ष हुने उहाँ (ओली) को चाहना चकनाचुर भएको छ । तर निर्वाचनबाट भएपनि अध्यक्षमा ओलीले निर्वाचित हुनेहो’ ओली निकट एक नेताले भने ।

यसअघि ओली निकटका नेताहरुले सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने बताउँदै आएका थिए । अनौपचारिक रुपमा अध्यक्षमा उम्मेदवारी घोषणा नगरेका ओलीले अब अध्यक्षका लागि उपाध्यक्ष रावलसंग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । आफू पक्षिय नेताहरुलाई विभिन्न पदमा व्यवस्थापन गर्नुपर्ने समस्यामा रहेका ओलीले अब आफै प्रतिस्पर्धा गर्नुपर्ने भएपछि थप सस्मया बढेको छ ।

रावलको फितलो तयारी
अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका रावलको तयारी फितलो छ । लामो समय नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निकट रहेका रावलले पार्टी विभाजनदेखि नेपाललाई साथ नदिई एमालेमै संघर्ष गर्दै आएका छन् ।

रावलसँगै स्थायी कमिटीका १० नेताहरु नेपालको साथ छोडेर एमालेमै बसेका थिए । ति १० नेता पनि अहिले एक ठाउँमा छैनन् । उपमहासचिव घनश्याम भुसाल बाहेका नेताहरु ओली समूहमै समाहित भएका छन् । रावलको उम्मेदवारी घोषणासभामा ति १० नेता मध्ये कोही पनि सहभागी थिएनन् ।

अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका रावलले अन्य पदमा आफ्नो समूहबाट क–कसलाई उम्मेदवारी दिन लगाउने भन्ने टुंगो लगाएका छैनन् । तर उनले घोषणासभामा विस्तारै नेताहरुसँग छलफल गर्दै ‘टिम निर्माण’ गर्ने बताएका छन् ।

रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभन्दा अघि आफूपक्षिय नेताहरुसँग समेत छलफल गरेका छैनन् । कतिपय नेताले आफूखुशी उम्मेदवारी घोषणा गरेको भन्दै आलोचना समेत गर्दै आएका छन् । यसअघि गृहजिल्ला अछाम पुगेका रावलले अध्यक्षमा उम्मेदवारी दिने संकेत गरेका थिए ।

एमालेको १०औं महाधिवेशनमा मंसिर १०, ११ र १२ गते चितवनमा हुँदैछ । एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्था अनुसार १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ जना सचिव गरी १५ जना पदाधिकारीसहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्