चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा रंगशाला निर्माण हुने बताएका छन् ।
आज (सोमबार) चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुने बताएका हुन् । उक्त रंगशाला आर्थिक अभावले गर्दा गत साउनदेखि नै काम रोकिएको छ ।
‘निकै ठूलो मेहनतले यहाँ रंगशाला निर्माण अगाडि बढेको हो । तत्कालीन प्रधानमन्त्री र मसहित उपस्थित भएर निर्माण गरिछाड्ने भनिएको हो,’ प्रचण्डले भने, ‘पछि विवाद बढ्दै जाँदा कसरी नबनाउने भन्नेतिर प्रधानमन्त्री गए, म कसरी बनाउने भन्नेतिर गएँ।’
उनले रंगशाला निर्माणको काम अगाडि बढाउनुपर्ने पनि बताए। ‘कुनै तरिकाले हामी रंगशाला निर्माणका लागि अगाडि बढ्नैपर्छ,’ उनले भने।
यसअघि अर्थमन्त्री जनार्दन शर्माले पनि रंगशाला निर्माणमा सरकारका तर्फबाट सहयोग हुने प्रतिवद्धता जनाएका थिए।
धुर्मुससुन्तली फाउन्डेसन करिब १७ करोड ऋणमा छ। सामग्री खरिद गरेको पैसा तिर्न बाँकी रहेपछि रंगशाला निर्माणको काम अगाडि बढेको छैन।














