Logo
Logo

एमालेमा उमेर हदका कारण बाहिरिँदै यी नेता



काठमाडौं । एमालेको आसन्न महाधिवेशनको नेतृत्व र पदाधिकारीमा कसले बाजी मार्ला भन्ने बहस चुलिएको छ । तर, यो महाधिवेशनले केही नेताहरूलाई भने बिदाइ गर्दैछ ।

गोदावरीमा सम्पन्न एमालेको विधान महाधिवेशनले ७० वर्षे उमेरहद लागु गरेका कारण एमालेको शक्तिशाली भूमिकामा रहदै आएका कम्तीमा चार जना नेता चितवन महाधिवेशनबाट बिदाइ हुँदैछन् ।

अध्यक्षमा पुनः अनुमोदन हुन लागेका केपी ओली मंसिरमा नभई ११ फागुनपछि महाधिवेशन भएको खण्डमा १०औं महाधिवेशनबाटै बिदाइ हुने थिए । किनकि, ११ फागुन २०७८ मा उनी ७० पुगेर ७१ लाग्दैछन् ।

विधान महाधिवेशनले ७१ वर्ष लागेपछि पार्टीको कार्यकारी भूमिकामा बस्न नपाउने व्यवस्था गरेको छ । यो व्यवस्थाअनुसार तीन महिना चाँडो अधिवेशन भएका कारण ओली जोगिए पनि अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा भने चितवन महाधिवेशनबाटै एमालेको कार्यकारी भूमिकाबाट बिदा हुँदैछन् । उनी ७३ वर्षका भइसकेका छन् ।

बोहोरासँगै मधेसका शक्तिशाली मानिने स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल पनि चितवन महाधिवेशनबाटै ‘रिङ आउट’ हुँदैछन् । उनी ७० वर्ष पुगिसकेका छन् । अर्का स्थायी कमिटी सदस्य केशव बडाल पनि ७२ वर्षका भइसकेका छन् । त्यसैले उनी पनि चितवन महाधिवेशनबाट एमालेको सक्रिय भूमिकाबाट अलग हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्