Logo
Logo

ओलीलाई भीम रावलको चुनौती



काठमाडौं । सर्वसम्मत नेतृत्वमा दोहोरिने एमाले अध्यक्ष केपी शर्मा ओलीको चाहनामा उपाध्यक्ष भीम रावलले चुनौती दिएका छन् । महाधिवेशन आउन पाँच दिन बाँकी रहँदा रावलले १०बुँदे सहमति कार्यान्वयन गर्दै पार्टीलाई सशक्त भूमिकामा अघि बढाउन आफूले नेतृत्व गर्ने भन्दै केन्द्रीय अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

प्रतिनिधि छनोट र तल्ला तहका अधिवेशन सर्वसहमतिमा गराएका ओलीलाई अध्यक्षमा नदोहोरिने यसअघिको प्रतिवद्धतासमेत रावलले स्मरण गराएका छन् । ओलीले देश र पार्टीको नेतृत्व गरी गर्नसक्ने काम गरिसकेको र जनताले पनि देखिसकेको रावलको जिकिर छ । नेकपा र एमालेको विभाजन कसको त्रुटि, कमी र कमजोरीबाट भयो भन्ने ठण्डा दिमागले सोच्नु र विश्लेषण गर्नुपर्ने आवश्यकतासमेत उनले औल्याएका छन् । नेतृत्व चयनको विषयले दीर्घकालिन महत्व राख्ने तर्क गर्दै रावललले महाधिवेशनलाई पार्टीको आन्तरिक एकता, पारस्परिक विश्वास र समझदारी स्थापित गर्ने अवसरका रुपमा लिनु बुद्धिमानी हुने औल्याएका छन् ।

१०बुँदे सहमति कार्यान्वयन नहुँदा एकता, विश्वास र समझदारी स्थापित हुनमा व्यवधान सिर्जना हुनसक्ने आशंका विद्यमान रहेको भन्दै रावलले आगामी स्थानीय र आम निर्वाचनमा विपक्षीहरूसंगको प्रतिस्पर्धामा मात्र होइन पार्टी पंक्तिलाई सैद्धान्तिक, संगठनात्मक र भावनात्मकरुपमा एकजुट बनाई संगठनको विस्तार र सुदृढिकरण गर्दै फुट र विभाजनको दुस्चक्रबाट जोगाउने र बाञ्छित प्रतिफल हासिल गर्ने काममा समेत कुप्रभाव पार्न सक्ने औल्याएका छन् ।

एमालेले आन्तरिक समस्या सामना गरिरहेको बेला राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिका तरंगहरु पनि प्रतिकूल देखिएको रावलले विश्लेषण छ । रावलले विजय र पराजयको अर्थमा भन्दा आफ्ना धारणा र मान्यतालाई महत्व दिएको स्पष्ट पारेका छन् । उनले कुनै व्यक्तिविशेषप्रति कुनै आग्रह नराखेको समेत बताएका छन् ।

देश, जनता र पार्टीका सामु आएका र आउनसक्ने चुनौतीहरूको सामना गर्न, सबै सकारात्मक सम्भावनाहरूलाई उद्घाटित गर्दै वर्तमान प्रतिस्पर्धी विश्वमा नेपालको शीर ठाडो गरी समृद्धिको पथमा अग्रसर राख्न नेतृत्व दिने अठोट गरेको रावलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्