Logo
Logo

आरजुले प्रहरी चलाउन थालेपछि…


3.2k
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक कमजोर हुँदा नेपाल प्रहरीको सरुवा–बढुवा बिचौलियाको हातमा पुगेको छ । प्रधानमन्त्री र गृहमन्त्रीनिकट गिरोहले बालुवाटार र गैरीधाराको एउटा रेष्टुराँबाट प्रहरी चलाउन थालेको छ ।

त्यस्तो समूहमध्ये एक समूह बालुवाटारको ओपेरा रेस्टुरेन्टमा बसेर डिल गर्दै आएको छ । प्रधानमन्त्रीपत्नी आरजु देउवाका पिए प्रकाश देउजा, सो रेष्टुरेन्टका मालिक हेमन्त धामी तथा केही बिचौलिया मिलेर प्रहरीको सरुवाको सूची बनाउने गरेका छन् । त्यही सूची बालुवाटारबाट गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय पुग्ने गरेको छ । तिनै सूचीअनुसार सरुवा हुन थालेको छ । सो समूहको चलखेलले यतीबेला गृहमन्त्री भन्दा सरुवामा बालुवाटार हाबी भइरहेको छ । बालुवाटारको हस्तक्षेपले गृहमन्त्री बालकृष्ण खाण समेत रुष्ट बनेका छन् ।

बालुवाटारको सो रेस्टुरेन्ट प्रहरीका उच्च अधिकारीको अखडा बनेको छ । त्यहाँबाट हुने सरुवामा ठूलो आर्थिक चलखेल भइरहेको सूचना गृह मन्त्रालयले पाएको छ । तर, महाधिवेशनको समय भएकाले गृहमन्त्री खाण यो विषयमा मौन छन् । आफुले गरेको काठमाडौंको एसएसपी अशोक सिंहको सरुवा बालुवाटारले स्थगन गरेको घटनाले पनि बालुवाटार र गृहबीच विवाद बढेको छ । आरजुले प्रहरी चलाएको भन्दै गृहमन्त्री खाण असन्तुष्ट बनेका छन् ।

विभिन्न समूहको सेटिङले गर्दा प्रहरीमा बेथिति बढेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले यस्ता अनावश्यक दबाबलाई केही हदसम्म रोक्ने प्रयास गरेपनि निर्णयमा त्यो देखिएको छैन । अवधि नै नपुगी चलखेलका आधारमा सरुवा गर्ने तथा इन्सपेक्टरको काज सरुवा पनि यस्तै गिरोहको चलखेलका आधारमा भइरहेका छन् । कतिसम्म भने सामान्यतया काज सरुवा नहुने सशस्त्र प्रहरीमा पनि दबाबकै भरमा काज सरुवा गरेर बिओपी इन्चार्जहरू हेरफेर गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्