
काठमाडौैं । आगामी हुने आम निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाटै उम्मेदवार बन्ने भएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी हुने आम निर्वाचनमा चितवनबाट उम्मेदवारी दिने बताएका हुन् ।
चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका-२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको सोमबार अबेर उद्घाटन गर्दै उनले गत निर्वाचनमा आफूले चितवनका जनतासँग गरेको बाचा पूरा गर्दै आएको उल्लेख गरे । उनले आगामी निर्वाचनममा चितवन क्षेत्र नं ३ बाटै आफ्नो उम्मेदवारी रहने स्पष्ट पारे ।
भरतपुर महानगरको विकास लोभलाग्दो रहेको भन्दै अध्यक्ष प्रचण्डले यसलाई अझ उचाइमा पुर्याउनका लागि लागि आफ्नो उम्मेदवारी रहने बताए । भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निर्वाचन अगाडि जग्गा वितरण गरिने उनको भनाइ थियो । ‘चितवनमा पहिलो चरणमा जग्गा वितरण गरिन्छ’, उनले भने ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले समृद्ध तराई-मधेश कार्यक्रमअन्तर्गत आयोजना सुरु भएको भन्दै भरतपुर र माडी क्षेत्रमा सो कार्यक्रम सञ्चालन गरिएको बताइन् ।
। यी क्षेत्रमा रु चार अर्बको लगानी हुने उनको भनाइ थियो । किसानले अब सिँचाइ अभाव महसुस गर्नु नपर्ने उनले बताए । सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यलगायतको उपस्थिति थियो ।
चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख देवकुमार स्याङवोका अनुसार सो क्षेत्रमा रु चार करोडको लागतमा पाँच डिपट्युबेल प्रणाली निर्माण गरिएका छन् । यसबाट २०० हेक्टर जमिन सिञ्चित हुने छ । जिल्लाका विभिन्न क्षेत्रमा यस कार्यालयले १७ ट्युबेल प्रणाली निर्माण गरिसकेको छ । ती ट्युबेल निर्माण गर्न रु १३ करोड ६० लाख खर्च भएको उहाँको भनाइ छ । नयाँ निर्माण गरिएका ट्युबेलले ८७७ हेक्टर जमिन सिञ्चित भएको छ ।











