Logo
Logo

गुप्तचरमा चलखेल ?



काठमाडौं । प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष मातहतमा लगेर केही सुदृढीकरण गरिएको राष्ट्रिय अनुसन्धान विभागका नयाँ प्रमुख नियुक्तिका लागि चलखेल सुरु भएको छ । प्रमुख अनुसन्धान निर्देशक गणेश अधिकारीको अवकाशको मिति नजिकिदै गर्दा नयाँ प्रमुख बन्न दौडधुप सुरु हुन लागेको हो ।

प्रमुख अनुसन्धान निर्देशक अधिकारीले तीन वर्षे पदावधि पूरा गरी आगामी २३ पुसदेखि अनिवार्य अवकाश पाउँदैछन् । तीन वर्षको अवधिमा उनले विभागलाई बलियो बनाउने प्रयास गरेका थिए । पछिल्लो समय विभागको सूचना प्रणाली चुस्त भएको छ भने विदेशीका गतिविधिको समेत निगरानी बढेको छ ।

अधिकारीको अवकाशपछि विभागका अतिरिक्त प्रमुख अनुसन्धान निर्देशकद्वय यदुलाल खरेल र यादब रेग्मी विभागको नेतृत्वको प्रतिस्पर्धामा हुनेछन् । रेग्मीलाई करिब तीन वर्षदेखि फाजिलमा राखिएको छ । केपी शर्मा ओली सरकारले रेग्मी र डिआइजी मधु कार्कीलाई एक तह घटुवा गर्ने निर्णय गरेकोमा सर्वाेच्च अदालतको आदेशले उनीहरू पुर्नबहाली भएका थिए । पुर्नबहाली भएपनि उनीहरूले जिम्मेवारी पाएका छैनन् । देउवा सरकार आएपछि पनि रेग्मीले जिम्मेवारी नपाएपछि उनी कमजोर देखिएका छन् । जसकारण खरेल नै विभागको नयाँ प्रमुख हुने सम्भावना देखिएको गुप्तचर अधिकारीहरू बताउँछन् ।

तर, अर्काे चलखेल पनि जारी छ । केही अनुसन्धान निर्देशक (डिआइजी)हरू पनि ३० वर्षे सेवा हद हटाएर आफुहरू प्रमुख हुने खेलमा छन् । हुतराज थापा, टेकेन्द्र कार्की, ओम जोशी, कुलदेव थापा, हरिहर पौडेललगायत यस्तो चलखेलमा छन् । विशेष सेवा नियमावली संशोधन गरेर ३० वर्षे सेवाहद लागू गर्ने र विभागको प्रमुख हुने उनीहरूको लबिङ छ । यद्यपी खरेल प्रमुख भएपनि सो ब्याचबाट एक प्रतिस्पर्धामा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्