Logo
Logo

जसपाले गर्यो प्रदिप यादवलाई केन्द्रीय सदस्यबाट निलम्वन



काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केन्द्रीय सदस्य प्रदिप यादवलाई कारबाही गरेको छ । पार्टी अनुशासनविपरित काम गरेको आरोपमा जसपाले उनलाई केन्द्रीय सदस्यबाट कारबाही गरेको हो ।

जसपाको सम्पन्न कार्यकारिणी समितिको बैठकले यादवलाई कारबाही गर्ने निर्णय गरेको कार्यकारिणी समितिका सदस्य प्रकाश अधिकारीले बताए । पार्टी अनुशासन उलंघन गरेको आरोपमा उनलाई कारबाही गरिएको हो ।

यसअघि समेत सांसद पदबाट ६ महिनाका लागि यादवलाई जसपाले कारबाही गरेको थियो । लातभियाको राजधानी रिगामा भएको ‘इन्टरनेशनल नेटवर्क अफ पारलियामेन्टरियन अन फ्रि तिब्बत’को कार्यक्रममा पार्टीको नीतिविपरीत तथा पार्टीलाई जानकारी नगराई भाग लिन गएको भन्दै सांसद यादवलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरिएको थियो । उनीमाथि पार्टीले दोस्रो पटक कारवाही गरेको हो ।

मन्त्री नबनाएको रिसमा सांसद यादवले आफ्ना कार्यकर्तालाई आन्दोलनमा उतारेर पार्टीको झण्डा र पार्टी कार्यालय तोडफोड गरेको आरोपमा कारवाही गरिएको छ । यो कारवाही यादवका लागि दोस्रो पटक हो । केन्द्रीय सदस्यबाट कारवाही गरिए पनि उनको साधारण सदस्यता कायम नै रहनेभएको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार यादवलाई पार्टीको साधारण सदस्यबाटै हटाउने तयारी थियो । बैठकमा सोहीअनुसार प्रस्ताव आए पनि जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई, कार्यकारिणी समितिका सदस्यहरु इस्तियाक राई, नवराज सुवेदी, गंगा श्रेष्ठ, मनिष सुमन, राजकिशोर यादव, प्रशान्त सिंह, रेणु यादवलगायतका नेताहरुले प्रदीप यादवबाट गल्ती भए पनि साधारण सदस्यबाटै हटाउन नहुने धारणा राखेका थिए ।

उनीहरुले साधारण सदस्यबाट हटाउन उचित नहुने धारणा राखेपछि केन्द्रीय समितिबाट मात्र हटाइएको ती नेताले बताए । अध्यक्ष भट्टराई सहितका नेताहरुले सांसद यादवबाट गल्ती भएको ठहर गर्दै उनीमाथि अनुशासनको कारवाही हुनुपर्ने तर साधारण सदस्यबाटै हटाउन उचित नहुने धारणा राखेका थिए । यादवलाई साधारण सदस्यबाट निष्काशन गर्दा पार्टीलाई नै घाटा हुने धारणा उनीहरुले राखेका छन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रदीप यादवले कार्यकर्ता उतारेर गरेको आन्दोलनका बारेमा पार्टी कार्यालयका सचिव प्रकाश अधिकारीले बैठकलाई सम्पूर्ण जानकारी गराएका थिए । अधिकारीले बैठकमा प्रदीप यादवले १६ जना युवालाई टिकट काटेर काठमाडौं बोलाएकोसम्मको प्रमाण पेस गरेका थिए । पार्टीले मन्त्री नबनाएको आक्रोशमा यादव निकटका युवा विधार्थीहरुले पार्टी कार्यालयमा तोडफोड तथा पार्टीको झण्डा समेत जलाएका थिए ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रदीप यादवलाई कारवाही गर्ने पक्षमा आफू रहेको र पार्टीभित्र अनुशासन कायम गर्नका लागि कुनै न कुनै कारवाही गर्नुपर्ने धारणा राखेका थिए । सांसद प्रदिपको व्यवहार राजनीतिककर्मी भन्दा केटाकेटीको जस्तो देखिएकाले कारवाही गर्नुपर्ने पक्षमा उपेन्द्र उभिएका थिए ।

प्रदीप यादवले आफ्नो पुतला जलाएको भन्दा पनि पार्टीको झण्डा जलाउनु र पार्टी कार्यालयमा तोडफोड गर्न लगाउनु ठूलो गल्ती भएको अध्यक्ष यादवको भनाइ थियो । ‘उनले जे गल्ती गरेका छन्, त्यसका आधारमा पार्टीबाटै निष्काशन गर्नुपर्ने हो तर त्यहाँसम्म नजाउँ, केन्द्रीय सदस्यबाट निष्काशन गर्दासम्म हुन्छ,’ अध्यक्ष यादवले बैठकमा प्रस्ताव राख्दै भनेका थिए ।

बैठकमा साईकल वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोप लागेका प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिनुपर्ने माग समेत उठेको छ । कार्यकारिणी समितिका सदस्य रामनरेश रायले मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने माग गरे पनि सो बिषय पार्टीले कुनै निर्णय गरेको छैन् ।

प्रतिक्रिया दिनुहोस्