Logo
Logo

एक्लै हिडेर कहीँ पुगिँदैन, सँगै यात्रा गरौं : नेता पोखरेल



काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले नेकपा एमाले समाजवादी आकांक्षमा अलमलिएको बताएका छन् ।

शुक्रबार चितवनमा नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा माओवादीको तर्फबाट शुभकामना व्यक्त गर्दै एक्लै हिडेर कहीँ नपुग्ने बताए । विभाजन र एकता कम्युनिस्ट आन्दोलमा ७० वर्षदेखि भएको भन्दै उनले भने, ‘एक्लै हिँड्ने तरिकाले कहीँ पुगिदैन।’

राष्ट्रिय स्वाधीनता र देशको विकासका लागि सबैको सहकार्यको आवश्यकता औँल्याउँदै कम्युनिस्ट पार्टीको इतिहासमा भइरहेको टुटफुट र एकतालाई स्वाभाविक प्रक्रियाका रूपमा व्याख्या गरे । ‘समाजमा अन्तर्विरोध स्थिर हुँदैनन्, सामाजिक परिवेश बदलिरहन्छन्, यो नियम मार्क्सवादीले मात्र विश्लेषण गर्न सक्छन्,’ उनले भने, ‘द्वन्द्व नभए विकास हुँदैन ।’

सामजिक शक्तिबीच द्वन्द्व र एकता स्वाभाविक रहेको उनले बताए । उने भने, ‘‘द्वन्द्व छैन भने सामजिक विकास रोकिन्छ । मतभेद र तितक्ता भएपनि विकासका लागि सहकार्य आवश्यक छ । चुनौती र सम्भावना दुवै सँगसँगै छन् ।’

आफूहरू केही काल पार्टी एकता गरेर एकै ठाउँ रहे पनि केही भिन्न मान्यता र परिवेशका कारण अलग हुन पुगेको उनको भनाइ थियो । कम्युनिस्ट आन्दोलन विभेदीकरणको निषेध, समानताको परिचय, स्वतन्त्रताको अभिव्यक्ति हो भन्दै उनले हरेक अत्याचारको विरोध गर्न कम्युनिस्ट आन्दोलनले नै सिकाएको प्रस्ट पारे ।

नेपाली कम्युनिस्ट आन्दोलनप्रति जनताको अपार विश्वास रहनुका साथै नयाँ र समृद्ध नेपाल निर्माण गर्न हाम्रासामु चुनौती रहेको पनि उनले बताए । कसैको एक्लो यात्राले राष्ट्रिय स्वाधीनता, जनताको सच्चा लोकतन्त्रको विकास र समृद्धि हासिल गर्न कठिन रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्