Logo
Logo
टिप्पणी

एमाले गाली-सराप बगाएर फर्कन्छ या नारायणीसँगै बगेर गंगा पुग्छ ?



– Milan Limbu

काठमाडौं । देशभरका एमाले नेता कार्यकर्ता चितवन छन् । १०औं महाधिवेशन सन्दर्भ बन्यो । र, त्यहीँबाट अध्यक्ष केपी शर्मा ओलीले धक्कु दोहोर्‍याए- ‘आगामी निर्वाचनबाट एमालेले देशको नेतृत्व गर्छ ।’

संसदीय व्यवस्थामा ओलीको धक्कु असंगत हुँदैन । तर, के साँच्चिकै एमालेले देशको नेतृत्व गर्ला त ? यो प्रश्नको जवाफ चाहिँ सहज छैन । मानौं, एमालेले देशको नेतृत्व गर्ला । तर, जनताले एमालेसँग अझै अपेक्षा गर्छन् त ? केहीले गर्लान् पनि । तर, देशको नेतृत्व गर्दै एमालेले पेवा ठानेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान सफल होला त ? तमाम प्रश्न र नारायणी मेलाको वस्तुगत अवस्थालाई यसरी हेरौं-

१०औं महाधिवेशनको उद्घाटनमा ५ लाख जनता उतार्ने एमालेलेको तयारी थियो । उर्लेको जनसागरले एमालेको योजना सफल नै देखियो । तर, ति सबै जनता थिए कि कार्यकर्ता ? सामान्य रुपमा कार्यकर्तालाई पनि जनता नै हुन्, भनिएलान् । तर, जनता र कार्यकर्ता भने एक होइनन् ।
देशभरबाट कार्यकर्ता थुपार्नु र स्वतस्फूर्त जनता सहभागी हुनु अलग कुरा हुन् । अर्थात नारायणी तीरमा जनसागर नभएर कार्यकर्ताको सागर थियो । देशको सबैभन्दा ठूलो पार्टीको सर्वोच्च कार्यक्रममा यो संख्यामा मानिस देखिनु सामान्य मान्नु पर्छ ।

नेपाली राजीनितमा नेता कार्यकर्ता भेला पारेर प्रतिस्पर्धीलाई गाली गर्नु शक्ति प्रदर्शन मानिन्छ । अर्थात, ‘हेर मसँग यति धेरै समर्थक छन्’ भनेर दलले कार्यकर्ता प्रदर्शन गर्ने चलन छ । यसैको मेलोमेसोमा एमालेले नारायणी तीरमा कार्यकर्ता प्रदर्शन गरेको हो ।

गाउँमा एमाले कार्यकर्ता भेटिन्न । सबै, चितवन पुगेका छन् । बस र जहाजका टिकट सबै एमाले कार्यकर्ताले नै कब्जा गरेका छन् । देशभर ८ लाख संगठित सदस्य भएको दावी गर्ने एमालेको राष्ट्रिय महाधिवेशन यत्तिको हुनु स्वभाविक हो । तर, एमालेलेको यो प्रदर्शनले ‘एमाले साँच्चिकै बलियो छ’ भन्न सक्ने अवस्था हो त ? त्यो चाहिँ होइन ।

पछिल्लो आम निर्वाचनलाई आधार मान्दा एमाले सबैभन्दा ठूलो पार्टी त हो । तर, त्यसको धरातल एमाले–माओवादी चुनावी गठबन्धन थियो । कम्युनिष्ट एकता र कम्युनिष्ट नेतृत्वमा समृद्धि चाहना थियो । एमाले ठूलो पार्टी हुनुमा माओवादीको योगदान छ । र, माओवादीको यो आकारमा पनि एमालेको धरातल सारथी बनेकै हो । तर, आज एमालेलाई ठूलो पार्टी बनाउने माओवादी एमालेसँग छैन । र आज, त्यो ठूलो एमाले पनि बाँकी छैन । अंश लागिसक्यो । आधा एमाले मात्र बाँकी छ । अर्थात संगठनात्मक रुपमा एमाले आज कमजोर नै हो ।

सैद्धान्तिक वैचारिक रुपमा पनि एमाले बलियो छैन । ओली प्रतिगमन एमाले स्खलनको अन्तिम रुप थियो । जुन दिनबाट एमालेले राजनीतिक वैचारिक धरातल गुमाएको हो । प्रतिगमनविरुद्ध आधारभूत तहसम्म पुगेको अभियानले एमालेलाई नराम्रारी नङ्ग्यायो ।

मदन भण्डारीको अनपेक्षित मृत्युको आँशु र मनमोहन अधिकारीको ‘वृद्धभत्ता फण्डा’ पुरानो भइसक्यो । यसरी नीति तथा कार्यक्रमको दृष्टिकोणले एमालेमा धमिरा लागिसक्यो । र, एमाले नयाँ फण्डाको खोजीमा जुटेको छ । नयाँ शैलीको खोजीमा छ । र, गोयवल्स शैलीबाट जनता झुक्याउन एमाले कृयाशील छ । त्यसैको पछिल्लो रुप हो– नारायणी तीरको तामझाम !

पुँजीवादीहरु भित्र जेजस्तो भए पनि आवरण चिरिच्याट्ट पार्छन् । आकर्षक विज्ञापन बनाएर नराम्रा उत्पादन पनि महँगो मूल्यमा बिक्रि गर्छन् । आज एमालेले अपनाएको रणनीति यही हो । नत्र मञ्च बनाउन नै ५०-६० लाख खर्च गर्नुपर्ने त्यस्तो के बाध्यता आइलागेको होला ? देशभरबाट करोडौं खर्च गरेर कार्यकर्ता ओसार्नुपर्ने त्यस्तो बाध्यता त केही देखिन्न । उही केपी ओलीलाई पगरी गुथ्नकै लागि यत्रो तामझाम नै चाहिन्नथ्यो । एउटा विज्ञप्ति निकालेर भनिदिए पुग्ने थियो । तर, एमालेले यत्रो तामझाम गर्नुको कारण छ ।

ओली प्रतिगमनपछि सिंगो देश एकतिर र एमाले अर्कोतिर छ । देशले प्रतिगमन अस्वीकार गरेपछि एमालेको सत्ता हालिमुहाली माथिदेखि तलसम्म तहसनहस भयो । त्यसैले एमाले ठूलो पीडामा छ । पीडाकै परिबन्धबाट एमाले ‘हामी कमजोर छैनौं है’ भन्न खोजिरहेको छ । कार्यकर्ता भेला पारेर जनसागर भन्दै दुनियाँलाई देखाएर ‘एमाले विभाजन भएको होइन केही बाहिरिएका हुन्’ भन्न खोजिरहेको छ । तामझाम देखाएर ‘हामी उन्नत जातको राजनीतिक शक्ति हौं’ भन्न खोजिरहेको छ । तर, वास्तवमा एमालेको अवस्था त्यस्तो होइन ।

आमनिर्वाचन टाढा छैन । ओली र एमालेजनलाई सोही निर्वाचनको डर छ । निर्वाचनभन्दा पनि वर्तमान सत्ता गठबन्धनसँग डर छ । वर्तमान गठबन्धन निर्वाचनमा कायम रहे ‘क्लिन स्पीव’ हुने डर छ । तर, पनि ओली भन्दैछन्- ‘आगामी निर्वाचनबाट एमालेले देशको नेतृत्व गर्छ ।’ यसैलाई त ‘धाक भन्दा धक्कु ठूलो’ भन्नुपर्ने होला !

कम्युनिष्ट आदर्शबाट च्युत हुँदै जाँदा एमालेले आधार गुमाउँदै गएको छ । एकपछि अर्को गल्तीहरु गर्दै जाँदा विश्वास गुमाउँदै गएको छ । निहीत व्यक्तिको स्तुती गरेवापत पजनी पाउनेहरु बढ्दै जाँदा कार्यकर्तामा नैरास्यता बढ्दै गएको छ । अर्थात, सैद्धान्तिक वैचारिक र नीति तथा कार्यक्रमका दृष्टिकोणले सबै गुमाउँदै गएको एमालेले लाखौं भेला पारे पनि व्यर्थ हुन्छ ।

भयङ्कर तामझाम गरे पनि नारायणी मेलाको काम ओली देवत्वकरणलाई संस्थागत गर्ने मात्र हो । एमालेजन जसलाई देवत्वकरण गरेर सफलताको चुचुरो पुग्न सपना देख्दै छन्, ति व्यक्ति एकपटक होइन धेरैपटक असफल मात्र होइन अयोग्य भइसकेका पात्र हुन् । त्यसैले, देवघाट नजिकको त्यो मेलाबाट एमालेको उद्धार हुन्छ भन्ने लाग्दैन ।

अन्त्यमा,
नदी किनारमा गरिने दुई धार्मिक तथा सांस्कृत कर्मको प्रशंग,

जीवन यापनका क्रममा कसैले गरेको गाली र सरापका कारण असफलता र दुःख पाइने मान्यताका साथ लिम्बू समुदाय नदिमा ‘गाली–सराप’ बगाउँछन् । अर्थात, नराम्रो बगाएर राम्रो सुरुवात गर्छन् ।

र, खस–आर्य समुदाय, मृत्युपछि नदीमा शरीर अर्पण गर्छन् । शरीरका केही अंश धुवाको रुपमा वायुलाई छोडिदिन्छन् । बाँकी रहेको खरानी सोही नदीबाट गंगासम्म पु¥याएर लीला त्याग्छन् ।

आज, एमाले फेरि एकपटक नदीमै पुगेको छ । आठौं महाधिवेशनमा तिनाउ नदीबाट नयाँ जीवन लिएर फर्केको एमाले १०औं महाधिवेशनमा नारायणी पुगेको छ । हेर्न बाँकी छ, एमाले नयाँ जीवन लिएर फर्कन्छ या फर्कदैन ?

प्रतिक्रिया दिनुहोस्