काठमाडौं । गतसाल पुष ५ गते प्रधानमन्त्रीको हैसियतबाट केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे । तत्कालीन ‘नेकपा’ भित्रको अन्तरसंघर्ष प्रतिनिधिसभा विघटनको कारण थियो ।
सार्वभौम संसद अन्तरसंघर्षको मारमा पर्यो । सोही कदमलाई नेकपाभित्रकै ठूलो हिस्साले ‘प्रतिगमन’ भन्यो । पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालको नेतृत्वमा नेकपाभित्र ओलीविद्धको मोर्चा उठ्यो ।
पार्टी र संसदमा बहुमत आफ्नो पक्षमा रहेको भन्दै प्रचण्ड–माधव–झलनाथ समूहले आफ्नो समूह नै आधिकारीक भन्यो । र, देश र पार्टीको हितविपरीत काम गरेको भन्दै ओलीलाई कारवाही गर्यो । अध्यक्षबाट हटाइयो ।
सोही घटना ओलीको मनमा ‘खिल’ भएर गढेको छ । सोही खिलले ओलीलाई घरी–घरी चस्स–चस्स घोचिरन्छ ! र, भनिरहन्छन्– ‘अपमानजनक ढंगले पार्टीबाट हटाइयो ।’
ओलीले पहिलोपटक प्रतिनिधिसभा विघटन गरेको पुष ५ को पर्सी अर्थात पुष ७ गते प्रचण्ड–माधव–झलनाथ समूहले माइभीघर मण्डलास्थित कार्की पार्टी प्यालेसमा नेकपाको केन्द्रीय कमिटी बैठक बोलायो ।

उक्त बैठकले एक निर्मम निर्णय गर्यो । सोही निर्मम निर्णय नै हो– होलीको मनमा बढेको ‘खिल’ । र, सोही खिलले ओलीलाई जारी १०औं महाधिवेशनको बन्दसत्रमा पनि चस्स घोच्यो ! बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने– ‘मलाई अपमानजनक ढंगले पार्टीबाट कारवाही गरियो । अध्यक्षबाट हटाइयो ।’
ओली घाइते बाघ झै बनेको सोही घटनाबाट हो । जुन दिन ओलीलाई अध्यक्षबाट कारवाही गरियो । सोही दिनबाट ओली झनै निर्मम र वेप्रवाह निर्णयका लागि अग्रसर भए । र, बारम्बार भन्दै आएका छन्– ‘मलाई अपमानजनक ढंगले पार्टीबाट हटाइयो ।’ यही वाक्या ओलीले बन्दसत्रमा पनि चारपटक दोसोर्याए ।
ओलीलाई पार्टी अध्यक्षबाट हटाइएको निर्णय सदर त भएन । तर, सोही निर्णय ओलीको मनमा ‘तुष’ बनेर बसेको छ । निर्णय भएको दिनदेखि आजसम्म ओलीले हरेक भाषणमा सोही घटना दोहो¥याइरहेका छन् ।
बन्दसत्रमा ओलीले मार्मिक ढंगले विषयवस्तु राखे– ‘कम्युनिष्ट शक्ति बलियो बनाउन पार्टी एकता गरियो । जनमत पाइयो । तर, अभागीलाई खाने बेलामा रिस उठ्दा दुईतिहाइ र्भुँइमा खस्यो । मलाई अपमानजनक ढंगले पार्टीबाट हटाइयो, सरकारबाट हटाइयो ।’
अध्यक्षबाट कारवाही गरिनुलाई ओलीले ‘पार्टी अरुलाई सुम्पने षड्यन्त्र’को रुपमा पनि ब्याख्या गरे । भने– ‘त्यो दिन सम्झदा पनि कहाली लाग्छ । मलाई अपमानजनक ढंगले हटाएर पार्टी प्रतिकृयावादीको पाउमा पुर्याउने काम भयो ।’
विस्मृतिको पीडा र वर्तमानको जोसमा भने– ‘एक वर्ष पनि भएको छैन । मलाई अपमानजनक ढंगले हटाएर पार्टी सिध्याउने कोसिस भएको थियो । तर, आज सोही पार्टी देशको निर्णायक शक्ति भएको छ । अब देशको नेतृत्व एमालेले नै गर्छ । त्यो उद्धघाटनसत्रले पुष्टि गर्यो ।’

उक्त कारवाहीको प्रतिवाद गर्ने ओलीसँग अनेक विषय कुथेका छन् । माधवलाई अध्यक्ष बन्न हतार भएर आफूलाई कारवाही गरिएको त्यो समयदेखि नै भन्दै आएका हुन् । १०औं महाधिवेशनको बन्दसत्रमा पनि दोहोर्याए । उनले भने– ‘चैतमा महाधिवेशन गर्ने त सहमति नै भएको थियो । तर, चैतसम्म पनि पार्खन नसकेर केही पार्टी फुटाइ अध्यक्ष बने । मलाई अपमानजनक कारवाही हटाइयो ।’
अदम्य शक्तिमा आसिन ओलीलाई त्यो कारवाही कल्पनाको कुरा थिएन । तर, त्यहाँ एउटा उखान सवित भएको हो– दुःख पाइस मंगले आफ्नै ढंगले । भएको त्यै हो ।
एमाले–माओवादी चुनावी गठबन्धनले एकताको जग बसाल्यो । सोही जगमा दुईतिहाइ नजिक जनमत मिल्यो । नेकपा बन्यो । र, ओलीलाई अदम्य शक्ति मिल्यो । एकताको क्रममा भाग लागेको प्रधानमन्त्री पनि प्रचण्डले छोडेकै थिए ।
एकतापछि प्रचण्डसँग मिलेर माधव–झलनाथलाई पेलेको विषय पनि एकतालाई संस्थागत गर्ने नाममा ‘ठिकै छ’ भन्ने अवस्थामै थियो । तर, उनैले भने झै– अभागीलाई खाने बेलामा रिस उठ्यो । त्यसैको परिणाम थियो– कार्की पार्टी प्यालेसको कारवाही ।
शक्तिमा हुँदा ओलीले आन्तरिक शक्ति सन्तुलनमा थोरै मात्र ध्यान दिएको भए आज यो दिन आउने थिएन । अन्तरसंघर्षको रिस संसदलाई नपाखेको भए आज दुईतिहाइ मत गोजीबाट खस्ने पनि थिएन । त्यो निर्णय ओलीको मनमा खिल झै गढेर बस्ने थिएन । र, ओलीले भनिरहनु पर्ने थिए– अपमानजनक ढंगले अध्यक्षबाट हटाइयो ।












