माओवादीलाई पुनः क्रान्तिकारी बनाएरै छाड्ने अध्यक्ष प्रचण्डको दृढता « Drishti News – Nepalese News Portal
Logo

माओवादीलाई पुनः क्रान्तिकारी बनाएरै छाड्ने अध्यक्ष प्रचण्डको दृढता


दृष्टि संवाददाता


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई विचार, सिद्धान्त र व्यवहारमा क्रान्तिकारी बनाउने दृढता व्यक्त गरेका छन् । पछिल्ला दिनमा माओवादीप्रति जनताको आकर्षण थप बढेको उल्लेख गर्दै उनले विगतमा रहेको अलमलसमेत सकिएको र आगामी दिनमा नयाँ आधारमा जनतामा स्थापित भएरै छाड्ने विश्वास व्यक्त गरे ।

देशभरका पालिका सम्मेलनलाई आज भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले पार्टीलाई आफ्नै खुट्टामा उभिने क्रान्तिकारी पार्टी बनाउने क्रम शुरु भइसकेको जानकारी दिए । अध्यक्ष दाहालले हालसम्म केन्द्रीय कार्यालयमा झण्डै आठ लाख सक्रिय पार्टी सदस्यको नामावली प्राप्त भइरहेको र प्रक्रियामा रहेका झण्डै दुई लाख गरी १० लाख बराबरको सक्रिय सदस्य पुग्ने अवस्था देखिएको जानकारी दिए ।

माओवादी पार्टी पुनः मुलुकको पहिलो पार्टी बन्ने उल्लेख गर्दै उनले विचार, राजनीति र सङ्गठनमा रहेको अलमलसमेत अब सकिएको स्पष्ट पार्नुभयो । सङ्गठनात्मक अभियानलाई क्रियाशिलताका साथ अगाडि बढाएपछि तराई मधेशदेखि हिमाली जिल्लामा समेत पार्टीप्रतिको आकर्षणमा थप वृद्धि भएको उनको भनाइ छ । डोल्पा, भोजपुर, रौतटह र सर्लाहीलगायत जिल्लामा भएका जनसभालगायतबाट पनि पार्टीप्रति जनताको विश्वासमा वृद्धि भएको आफूले पाएको अध्यक्ष दाहालले उल्लेख गरे ।

पार्टीमा महिलाको सहभागिता बढाएर ३५ प्रतिशत पु¥याइएको, युवाको प्रतिनिधित्व २० प्रतिशत रहने गरी सुनिश्चिता गरिएको तथा समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई विशेष प्राथमिकतामा राखिएका कारण जनताले माओवादी नै भरोसायोग्य पार्टी भएको विश्वास गरेको उनको भनाइ छ ।

अध्यक्ष दाहालले पार्टीलाई नयाँ शिराबाट उठाउने विश्वास दिलाएका कारण माओवादीमा बुद्धिजीवी, युवा, मजदुर, किसान र विभिन्न पार्टीका नेता तथा कार्यकर्ताको आकर्षण बढेको दावी गरे । विचार र राजनीतिक कार्यदिशाको अभावमा आयोजना गरिने सम्मेलन र महाधिवेशन कुम्भ मेला जस्तो देखिने तर्क गर्दै उनले भने, “जहाँ विचार र छलफलका लागि ठाउँ छैन । तर, जनतालाई भ्रम दिने कोशिस भइरहेको छ । त्यस्ता सम्मेलनको कुनै अर्थ हुँदैन ।”

संविधान,सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्रका साथ प्रतिनिसिभाको विघटन गरिएको र परिवर्तनका सबै एजेण्डलाई ध्वस्त पार्न खोजिएका कारण जनताले बाध्य भएर त्यसको प्रतिवाद गरेको उनको भनाइ थियो । उनले भने, “प्रतिगमनप्रति गरिएको प्रतिवादका कारण आजको अवस्थामा हामी छौँ, यो हामी सबैका लागि खुशी र गर्वको कुरा हो ।”

समाजवादी क्रान्ति गर्न लायक पार्टी बनाउने सङ्कल्प गरेको जानकारी दिँदै उनले समाजवादी क्रान्तिको मोडेल, आर्थिक, राजनीतिक र सांस्कृतिक नीति निर्माण गर्ने नीति र योजनाको सङ्कल्प गरिएको बताए । पछिल्लो पटक प्रतिगमन विरोधी वर्गसङ्घर्षमा प्राप्त गरेको सफलताका आधारमा र विचार निर्माणका लागि लिइएको दिशा निर्देशन र प्रतिवद्धतालाई कार्यान्वयन गर्न पनि सोही अनुसारको नेतृत्व आवश्यक रहेकाले सोही दिशामा केन्द्रीत हुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे। पार्टीको समग्र विचार निर्माणमा कम ध्यान गएको र कमजोरी भएको स्वीकार गर्दै उनले तत्कालीन दैनिक काम कारवाही र जोड घटाउनमा लाग्दा विचार निर्माणको विषय छुटेकाले अब त्यस्तो हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

माओवादी कमजोर भए परिवर्तनका एजेण्डा र राष्ट्रियतासमेत कमजोर हुने भएकाले पार्टीलाई बलियो र जनमुखी बनाउन सबैको उत्तिकै प्रयत्न जरुरी रहेको अध्यक्ष दाहालको भनाइ छ । उनले भने, “हामीलाई निश्क्रिय हुने छुट छैन । हामीले जुन लाइन लिएको हो, त्यसलाई दृढताका साथ अगाडि बढाउन जरुरी छ । राष्ट्रका निम्ति पनि आवश्यक छ ।” परिवर्तन उल्ट्याउने षड्यन्त्रलाई परास्त गर्न आक्रामक रुपमा क्रियाशिल हुनसमेत आग्रह गरे ।

पार्टी सदस्य सङ्ख्या १० लाख पुगेकाले प्रत्येक पार्टी सदस्यले चार जना मतदाता तयार पारे ४० लाख मत पार्टीको पक्षमा आउने भन्दै सोही लक्ष्यका साथ क्रियाशिल हुनसमेत ध्यानाकर्षण गराए । सरकारका नीति तथा कार्यक्रम, पार्टीको नीति तथा कार्यक्रम र जनताको आवश्यकताको आधारमा समाजवादी कार्यदिशा तय गर्नुपर्ने उनको जोड दिए । समाजवादी उत्पादन अभियान चलाउने तयारी भइरहेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनबाट त्यसको सश्लेषण गरिने विश्वास दिलाए ।

प्रतिक्रिया दिनुहोस्