Logo
Logo

‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबको दोस्रो जित



काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले लगातार दोस्रो जित निकालेको छ ।

शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले प्रतियोगितामा दोस्रो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङलाई जित दिलाउन आफिज ओलावालेले निर्णायक गोल गरे ।

खेलमा मनाङले गोल गर्न दोस्रो हाफसम्म कुर्नु परेको थियो । खेलको ८४ औं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मनाङलाई १–० को अग्रता दिलाएका थिए । पुजन उपरकोटीको कर्नरमा निशान लिम्बुको फ्लिक हेडर पासमा ओलावालेले गरेको गोल नै खेलका लागि निर्णायक बन्यो । जितसँगै कीर्तिमानी आठ पटकको विजेता मनाङ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मनाङले २ खेलमा ६ अंक जोडेको छ ।

पहिलो खेलमा मनाङले जावलाखेल युथ क्लबलाई १–० ले हराएको थियो । हिमालयनको यो पहिलो हार हो । पहिलो खेलमा हिमालयनले संकटा क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो । शनिबार नै भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै च्यासल युथ क्लबले पहिलो जित दर्ता गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा च्यासललाई जित दिलाउन रुमेश बर्तौलाले निर्णायक गोल गरेका थिए । जितसँगै दुई खेलमा ३ अंक जोडेको च्यासल लिगको सातौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्