Logo
Logo
एमालेको १०औँ महाधिवेशन

अध्यक्षसहित तीन पदका लागि मतदान

ईश्वर पोखरेलसहित पाँच पदाधिकारी निर्विरोध



चितवन । नेकपा एमालेको चितवनमा जारी १०औँ महाधिवेशनमा अध्यक्षसहित तीन पदका लागि मतदान हुने भएको छ ।

अध्यक्षका लागि उपाध्यक्ष भीम रावलले उम्मेदवारी दिएपछि मतदान हुने भएको छ । यसअघि वर्तमान अध्यक्ष केपी शर्मा ओलीले रावलाई उपाध्यक्षमा मनाउने प्रयास गरेका थिए । तर, रावलले ओलीको प्रस्ताव नमानेपछि मतदान प्रक्रियामा जानुपरेको हो । अध्यक्षमा ओली र रावलले सोमबार उम्मेदवारी दर्ता गरिसकेका छन् ।

त्यस्तै, ६ जना उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेपछि मतदान हुने भएको छ । ७ सचिवमा ९ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष ओलीले प्रस्ताव गरेका ६ उपाध्यक्षमा घनश्याम भुसालले समेत उम्मेदवारी दिएपछि निर्वाचनमा जानुपर्ने भएको हो ।

त्यसैगरी ओलीद्वारा प्रस्तावित ७ सचिवसँगै भीम आचार्य र टंक कार्कीको समेत उम्मेदवारी परेपछि सचिवमा समेत मतदान गर्नु परेको केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले जनाए । उनका अनुसार समावेसी क्लस्टरका केन्द्रीय सदस्यहरुमा समेत उम्मेदवारी परेकाले केन्द्रीय सदस्यमा समेत मतदान हुने सम्भावना छ ।

यस्तै, नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच जना पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको औपचारिक घोषणा हुन भने बाँकी छ । वरिष्ठ उपध्यक्ष अन्य कसैको उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने भएका हुन् ।

महासचिव पदमा पनि अरु कसैको उम्मेदवारी नपरेपछि शंकर पोखरेल निर्विरोध हुने निश्चित भएको केन्द्रीय निर्वाचन आयोगका एक सदस्यले जनाएका छन् । त्यस्तै, तीन सिट रहेको उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्