काठमाडौं । नेकपा एमाले विभाजनको क्रममा एमालेमै रहेका नेता घनश्याम भुसाल १०औं महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएका छन् । पराजित नै भए पनि भुसालले सानदार मत प्राप्त गरे ।
एक्लै चुनावी मैदान उत्रेका भुसालले ७ सय २५ मत प्राप्त गरेका हुन् । उनले प्राप्त गरेको मत जितका लागि पुग्दो नभए पनि निर्वाचनमा बनेको समीकरणका आधारमा सानदार मत हो ।
संस्थापन पक्ष अर्थात ओली समूहबाट उपाध्यक्षका प्रत्यासीहरु अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, विष्णु पौडेल, युवराज ज्ञवाली र रामबहादुर थापा ‘बादल’ बिजयी भएका छन् । तर, एक्लै चुनावी मैदान उत्रेका भुसालले झण्डै आधा मत ल्याए ।
कसरी सानदार मत ?
भुसालले प्राप्त गरेको मतलाई सानदार भन्नु पर्ने विभिन्न आधार छन् । लामो समय संस्थापन इतर अर्थात एमाले एक हुँदा पनि माधवकुमार नेपाल समूहमा रहेर अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अन्तरसंघर्ष गर्दै आएका भुसालले यतिको मत पाउनु सामान्य होइन । त्यति मात्र होइन, पार्टी विभाजन हुँदा एमालेमै रहेता पनि त्यसयता संस्थापनविरुद्ध निरन्तर संघर्ष गरिरहेको बेला भएको महाधिवेशनमा झण्डै आधा मत पाउनु ठूलै उपलब्धि मान्नुपर्ने हुन्छ ।
मतदानका क्रममा ओली समूहले उम्मेदवारको सूची बनाएर फलाना–फलानालाई भोट नदिनु भन्दै उर्दी नै जारी गरेको थियो । त्यस्तो अवस्थामा यतिका मत पाउनु सामान्य होइन । ओलीको उर्दी नै अस्वीकार गर्दै धेरैले भुसाललाई भोट हालेका छन् ।
वैचारिक नेतासँग कार्यकर्ताको आशा
एमालेमा मात्र नभइ कम्युनिष्ट आन्दोलनकै एक वैचारिक नेताको रुपमा छवि बनाएका भुसाललाई एमाले कार्यकर्ता गुमाउन चाहँदैनन् भन्ने पुष्टि उनले प्राप्त गरेको मतले गरेको छ ।
पार्टी विभाजन हुँदा भुसालका धेरै कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा गए । अन्तिम समयमा एमालेमै रहने निर्णयमा पुगे पनि भुसालले आफू निकटका धेरै नेता कार्यकता गुमाएको विश्लेषण हुँदै आएको छ ।
पार्टी एकता जोगाउन बनेको १० बुँदे प्रस्तावलाई आधार मान्दै पार्टी विभाजनको क्रममा एमालेमै रहने निर्णयमा पुगेका तेस्रो धार पछिल्लो समय संस्थापन लाइनको पेलानमा छन् । यस्तो अवस्थामा पनि उनले संस्थापन पक्षकै नेता कार्यकर्ताबाट यतिको भोट पाउनु भनेको एमाले कार्यकर्ता वैचारिक नेता भुसालसँग आशावादी छन्, गुमाउन चाहँदैनन् भन्ने हुन्छ ।
रावल र घनश्यामको मतान्तर
अहिलेको अवस्थामा भीम रावल र घनश्याम भुसालको अवस्था उस्तै हो । दुवै विद्रोही उम्मेदवारको रुपमा मैदान उत्रेका हुन् । यी दुई नेताको धार पनि एउटै हो । दुवै नेता पहिले माधवकुमार नेपाल समूहमा थिए । अहिले तेस्रो धारको रुपमा एमालेमा छन् । रावल अध्यक्षका प्रत्याशी थिए । उनले जम्मा २१३ मत मात्र पाए । यसलाई आधार मान्दा पनि भुसालले राम्रो मत पएका हुन् । रावल भन्दा भुसालले तेब्बर भन्दा धेरै मत पाएका पाए ।
भीम रावलले पाएको मतलाई तेस्रो धारको मत मान्ने हो भने भुसालले ५१२ मत विपक्षी अर्थात संस्थापन पक्षबाट पाएका हुन् ।