Logo
Logo

युवामा किन बढ्दैछ ‘गामोफोबिया’ ?



काठमाडौंको बसाइपछि घर पुग्दा आमाबुबाले एउटा प्रश्न गर्न कहिल्यै छुटाउनु हुन्न । दशैँ–तिहारमा मनाउन घर जाँदा होस् या कुनैबेला काम परेर जाँदा, उहाँहरूको प्रश्न हुन्छ, ‘बिहे कहिले गर्छस् ?’

यो प्रश्न मलाई बारम्बार सोधिने प्रश्न हो । मलाईमात्रै होइन, २० वर्ष नाघेका सबै युवालाई आफ्ना अविभावकले सोध्ने प्रश्न हो, यो । २० कटेपछि छरछिमेक, इष्टामित्र र आफन्तजनले पनि यस्तै सोध्छन्- ‘अनि बिहे कहिले गर्ने त ?’ विशेषगरी तराईतिरका छोरीहरू १७-१८ वर्ष कटेपछि बिहे गरिदिनै हतार हुन्छ । उसको लागि राम्रो ज्वाइँ खोजिदिने अनि जे गर्छे, उसकै घरमा गएर गर्छे भन्ने परम्परागत मान्यता हाम्रो समाजबाट अझै हट्न सकेको छैन ।

मंसिर महिना अर्थात्, लगनगाँठो जुराउने महिना । मंसिरमा धेरैको जोडी जुर्ने गर्छ । प्रेम विवाह होस् या मागी, बिहेको लागि मंसिर कुर्नुपर्ने प्रचलन छ । मंसिर बिहेकै चर्चाले बित्छ । केहीले घरपरिवार र समाजको दबावमा परेर बिहे गर्छन् । केहीले सबैको कुरालाई नजरअन्दाज गरेर हिँड्छन् ।

‘हामीलाई बुढेसकालले छोयो, काम गर्न सक्दैनौँ, अब त हाम्रो बसीखाने, तिर्थव्रता गर्ने, नातिनातिनी खेलाउने उमेर हो’ आमाबुबाको यस्ता कुरा सुन्दै आएको पाँच वर्ष जति भयो । यी सबैको कुराले एकपटक सोच्न बाध्य बनाउँछ । मनले मनलाई प्रश्न गर्छ– मेरो बिहेबारे सबैलाई यति धेरै चिन्ता किन ? जवाफ कुन मनले दिने हो थाहा छैन । एउटा भनाइ छ– ‘जन्म, मृत्यु र विवाह जन्ममै लेखिएको हुन्छ भनिन्छ ।’ फेरि मनले मनलाई प्रश्न गर्छ– ‘यी तीनै कुरा जन्ममै लेखिएको हुन्छ भने अरूलाई मेरो बिहेबारे यति धेरे चिन्ता किन ?’

साथीसंगीसँग भेट्दा होस् या कुनै क्याफेमा बसेर चिया पिउँदा, मंसिर लागेपछि बिहेकै कुरो चल्छ । २५/२६ वसन्त पार गरिसकेका साथीसंगीले पनि बिहेप्रति खासै चासो देखाउँदैनन् । कसैले त ‘बिहे पनि गर्ने हो र ?’ भन्ने तर्क गर्छन् । माया–प्रेममा परेकाहरूलाई बिहे कहिले गर्ने ? भनेर सोध्यो भने आफैँलाई उल्टै प्रश्न गर्छन्– ‘बिहे किन गर्ने ? बिहे गरेर दुःख पाउनु छैन ।’ केहीलेचाहिँ अहिले बिहेभन्दा पनि आफ्नो करिअरलाई फोकस गर्ने बताउँछन् । भविष्यभन्दा वर्तमान महत्वपूर्ण लाग्ने बताउँछन् ।

घरमा बिहेको कुरा चल्दैन ? भनेर सोध्यो भने सबैको एउटै उत्तर हुन्छ, ‘घरकाले बिहे गर भनेर कचकच गरेको त धेरै भयो ।’ यो प्रश्नमा एकजना सहकर्मीले भनिन्, ‘घरमा मेरो बिहेको कुरो चल्न थालेको ६/७ वर्ष अघिदेखि नै हो । पहिला बिहेको कुराले धेरै प्रेसर दिनुहुन्थ्यो, एकदिन बिहेको कुराले जहिल्यै प्रेसर नदिनु भोलि जे पनि हुनसक्छ, ज्वाँइमात्रै होइन, छोरी पनि देख्न नपाउनु होला नि भनेको थिएँ, त्यो दिनदेखि बिहेको कुरा उठेको छैन, अहिले त बिहे गर्नुपर्छ भन्ने सोच समेत आउँदैन ।’

बिहे गरेका साथीहरू कसैले वैवाहिक जीवन राम्रै चलिरहेको बताउँछन् । कसैले छिट्टै बिहे गरेर पछुतो भएको सुनाउँछन् । ‘बिहे गरेर दुःख पाइयो’ भन्छन् । बिहे गरेर खुसी हुने र ढिलो बिहे गरेर पछुताउने पनि छन् । भन्छन्– ‘बिहे गर्न पनि पछुताउँछन्, नगर्ने पनि ।’ हुन त मान्छेलाई जे गरेपनि सुख छैन ।

एकातिर साथीहरू विवाहदेखि तर्किरहेको देख्छु । अर्कोतिर हजुरबा–आमा सुनाउनुहुन्छ– ‘हाम्रो त १२-१३ वर्षमै विवाह भएको थियो । तेरो उमेरको हुँदा त ३-४ वटा बच्चा भइसकेको थियो । तँ चाहिँ बुढो कन्या नै बस्ने भइस् ।’

अहिले बिहेको स्वरूप र उद्देश्य परिवर्तन भएको छ । हजुरबा–आमाको पालामा १२-१३ वर्षको उमेरमा बिहे हुन्थ्यो, आमाबुबाको पालामा १८-१९ पुग्यो । अहिले बिहे गर्ने उमेर २५-३० लाई उपयुक्त ठान्छन् । पहिले आमाबुबाले जोसँग भन्यो त्यहीसँग, जति उमेर भएपनि बिहे गर्नुपथ्र्यो । अहिले जोडी छनोट गर्ने तरिका फरक छ । पहिलेजस्तो कसैको इच्छाविपरीत बाटोबाटै घिसारेर, काँधमा बोकेर लान पाइँदैन । केटा वा केटीको मन्जुरी विना बिहे गराइदियो भने अविभावकलाई मुद्दा पनि हालिदिन्छन् ।

बिहेप्रति सबैको आ–आफ्नै धारणा छ । कसै ढिलो बिहे गर्दा फाइदाभन्दा धेरै बेफाइदा हुने बताउँछन् । कसैचाहिँ ‘सिंगल लाइफ इज रक’ भनेर हिँड्छन् । जसले जे भनेपनि बिहे जीवनको महत्वपूर्ण संस्कारका साथै जीवनसाथीको साथमा जीनवरथ अघि बढ्न कार्यको सुरुवातचाहिँ पक्कै हो । दुवैसँगै अघि बढे जीवन राम्रो बन्छ । अघिपछि भए सोइला भाँचिन्छ । कसैकसैको त जुवा नै भाँचिन्छ ।

अहिले तीन कुरा बिहेसँग युवा डराइरहेका छन् । उनीहरूमा समानता, स्वतन्त्रता र सम्मान नहोला भन्ने डर छ । बिहे मानिसलाई सामाजिक बन्न बाध्य बनाउँछ । समाज र परिवारप्रतिको जिम्मेवारी बढ्दै जान्छ । अहिलेका युवा पारिवारिक र सामाजिक उत्तरदायित्वमा हत्तपत्त फस्न चाहँदैनन् ।

बिहेलाई धेरैले ‘बन्धन’को रुपमा पनि हेर्छन् । अहिलेका युवा स्वतन्त्र चाहन्छन् । स्वतन्त्र जीवन बिताउँन चाहनेहरूका लागि ‘बन्धन’ स्वीकार्य हुँदैन । उनीहरू बिहे गर्ने, पति वा पत्नीसँग आफूलाई समायोजन गर्ने, बालबच्चा जन्माउने, हुर्काउने, घर व्यवहार चलाउने कुरालाई झन्झट र अनावश्यक ठान्छन् । जीवनलाई मस्त भोग गर्नका लागि उनीहरू बिहे नगरी बस्न रुचाउँछन् ।

बिहे एक सम्झौता पनि हो । यसमा आफूले चाहेजस्तो, खोजेजस्तो सबै कुरा प्राप्त हुँदैन । फरक पृष्ठभूमि, फरक सोच र फरक प्रवृत्तिका महिला र पुरुष एकै भएर बाँच्न केही त्याग गर्नैैपर्छ । बिहे गरेपछि कतिपय रहर, इच्छा, सोच, चिन्तन त्याग्नुपर्छ । अर्काको कतिपय गल्ती, कमजोरी पनि स्विकार्नुपर्छ । त्यसैले अरुसँग सम्झौता गर्न नचाहनेहरू विवाह गर्न रुचाउँदैनन् ।

समाजमा सम्बन्धविच्छेद बढ्दै गएका कारण पनि आजभोलिका युवा बिहेदेखि डराउँछन् । श्रीमान् वा श्रीमती कस्तो पर्ला ? बिहेपछि आमाबुबासँग पहिलाजस्तै सुमधुर सम्बन्ध हुन्छ कि हुँदैन ? भन्ने डर पनि हुन्छ । यस्ता कुरासँग जुध्ने उपाय थाहा नहुँदा धेरैको जीवन संकटमा पर्छ । त्यसैले पनि बिहेप्रति अहिलेका युवामा वितृष्णा बढ्दै गएको छ ।

अहिलेका युवा हतारमा बिहे गरेर फुर्सदमा पछुताउन चाहँदैनन् । नबुझी बिहे गरेर जिन्दगी नै अलपत्र पार्न चाहँदैनन् । जागिर खाने, कमाउने, जमाउने अनि मात्रै बिहे गर्ने सोचमा हुन्छन् । ‘एक ठाउँ काट्न दशपटक नाप्नुपर्छ’ भन्छन् । किनकि, बिहे गरिसकेपछि पछुताउनु नपरोस् भन्ने सोच्छन् ।

एक्लो जीवनको एउटा पाटो आनन्द छ । साथीसंगी बनायो, अफेयरमा बस्यो, रमाइलो ग¥यो र करिअरलाई अगाडि बढायो । त्यसैले त बिहेलाई दोस्रो प्राथमिकतामा राख्ने गरेका छन् । तर, यसको अर्को पाटो नरमाइलो पनि छ । ढिलो बिहे गर्नेले पनि आफ्ना आधारभूत आवश्यकता पूरा गर्नुपर्छ । ढिलो जन्मिएको बच्चा र आमाबाबुबीच जेनरेशन ग्याप हुन्छ । यसले गर्दा बच्चाहरूलाई बुझ्न धेरै गाह्रो हुन्छ । बुढेसकालमा बिहे गरेर दुःख पाइयो भन्नेहरू पनि धेरै छन् ।

बिहे शब्द नराम्रो होइन । तर, बिहे गर्नैपर्छ भन्ने छैन भन्नेहरुको संख्या पनि बढ्दैछ । भन्छन्, ‘माटोको भर ढुंगालाई, ढुंगाको भर माटोलाई’, बिहे पनि त्यस्तै हो । जीवनको सुखदुखमा साथ र सहयोग आदानप्रदान गर्दै बाच्नका लागि बिहेलाई अपरिहार्य नै भन्दा फरक नर्पला ।

एउटा पांग्राले मात्रै रथ चल्दैन भनेजस्तै महिलाविना पुरूषको जीवन र पुरूषविना महिलाको जीवन चल्दैन । तर, कुनैपनि कुरामा विचार नगरी बिहे ग¥यो भने त्यसको परिणाम कस्तो हुन्छ भन्ने थाहा हँुदैन । हरेक व्यक्तिमा आफ्नो जीवनसाथीको योग्यता, व्यवहार, शिक्षा, सम्झौता गर्न सक्ने क्षमता हुनु अति आवश्यक छ । जब, दाम्पत्य जीवन सुखमय र शान्तसँगै बिताउन सक्छन्, तब मात्र जीवनको सार्थकता हुन्छ ।

प्रतिक्रिया दिनुहोस्