Logo
Logo

चौधरीको किर्तेविरुद्ध पीडितले सिआईबी गुहार्ने



काठमाडौं । नेपाल अटोमोबाइल एशोसिएसन अफ नेपाल (नाडा)को साधारणसभा जति जति नजिकिँदैछ, त्यति त्यति एशोसिएसनभित्र विवाद बढ्दै गएको छ ।

मुख्य विवाद ‘प्रोक्सी’ मतमा देखिएको छ । नाडाका अध्यक्ष कृष्ण दुलालले करण चौधरीलाई जिताउन विभिन्न कम्पनीको किर्ते हस्ताक्षर गरेर ‘प्रोक्सी’ मत संकलन गरेपछि विवाद उत्कर्षमा पुगेको हो ।

मंसिर २२ र २३ गते सोल्टी होटलमा आयोजना हुने नाडाको कुल सदस्य संख्या ३२ सय रहेको छ । जसमध्ये चार सयभन्दा बढी ‘प्रोक्सी’ मत अर्थात नक्कली रहेको नाडा स्रोतले जनाएको छ ।

उक्त स्रोतका अनुसार दुई सय प्रतिनिधिले ‘प्रोक्सी’ मत सच्याउन नाडा सचिवालयमा उजुरी दिएका छन् । सचिवालयले आइतबारसम्म आफ्नो उजुरीका विषयमा टुंगो नलगाए ती सदस्यहरु प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) र जिल्ला प्रशासन कार्यालयमा जाने तयारी गरेका छन् ।

यस विषयमा केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख धिरजप्रताप सिंहसँग सम्पर्क गर्दा किर्ते, जालसाजी मुद्धा ब्यूरोको अधिकारभित्र पर्ने भएकाले उजुरी आएको खण्डमा छानविन गर्ने बताए ।

नाडाको अध्यक्ष पदमा ध्रुव थापा र अरुण चौधरीका छोरा करण चौधरी प्रतिस्पर्धामा छन् । चौधरीले नाडाको आडमा देशैभरीका डिलरमार्फत राजस्व छल्न नाडालाई आफ्नो कब्जामा लिन चाहन्छन् ।

अरुण चौधरी नक्कली भ्याट बिल प्रकरणमा पटक पटक पक्राउ परेका व्यक्ति हुन् । उनले राज्यसँगको सेटिङमा मोटरपार्टस्, ल्यूओइल र मारुती मोटरको बिक्रीमा वर्षमा करोडौँ करोड रुपैयाँ भ्याट छल्दै आएको प्रमाण दृष्टिलाई प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्