Logo
Logo

तिहारको अन्तिम दिन भाइटीका लगाइयो


0
Shares

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटीका मनाइयो। दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाए।

राष्ट्रपति रामचन्द्र पौडेलले बहिनी शारदा पण्डितबाट बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाए। बिहान ११ बजेर ७ मिनेटको उत्तम साइतमा धेरैले भाइटीका लगाए भने समय अनुकूल बनाएर बिहानदेखि बेलुकासम्म नै भाइटीका लगाउने काम भयो भनी नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। यसरी पूजा गरी टीका लगाउनाले सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ।

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ।

टीका लगाइदिएktanपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवम् सेलरोटीलगायतका खानेकुरा दिन्छन् र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवम् सामाजिक परम्परा छ।

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार र दक्षिण एशियाली देशहरूमा दीपावलीका रूपमा मनाइने उज्यालोको पर्वले पछिल्लो समय अन्तर्राष्ट्रिय मञ्चमा विशेष महत्त्व पाउन थालेको छ। संसारभर फैलिएका नेपाली र दक्षिण एशियाली समुदायका कारण यो पर्व विश्वव्यापी बन्दै गएको हो।

यस वर्ष अस्ट्रेलियाका प्रधानमन्त्री एन्थाेनी अल्बानिजले सिड्नीमा ढाका टोपी र नेपालको झन्डा अङ्कित गलबन्दी लगाएर नेपाली समुदायसँग तिहार मनाए। सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै उनले विविधता नै आफूहरूको शक्ति भएको उल्लेख गरे।

त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमा दिपावली मनाउँदै सम्पूर्ण अमेरिकीहरूमा आशा र उज्यालो छाओस् भनी शुभकामना व्यक्त गरे।

ब्रिटिश र क्यानाडाली प्रधानमन्त्रीका साथै न्युयोर्कका मेयरले समेत दीपावलीको शुभकामना सन्देश जारी गरे।

संस्कृतिविद्हरूका अनुसार तिहार र दीपावली पर्व प्रकृति, पर्यावरण र जीवजन्तुको पूजासँग जोडिएकाले विश्वभर अनुकरणीय बन्दै गएको हो। साथै देउसी–भैलो, दीप प्रज्ज्वलन र भ्रातृत्वको सन्देशले पनि विदेशीहरूलाई आकर्षित गरेको छ।

पछिल्लो समय वैदेशिक रोजगारी, अध्ययन र स्थायी बसाइँसराइका कारण लाखौँ नेपालीहरू विश्वका धेरै देशमा पुगेका छन्। डायस्पोरामा नेपालीहरूको उपस्थिति बाक्लिँदै जाँदा हाम्रा मौलिक पर्वहरूले पनि विश्वभर पहिचान र सम्मान पाउन थालेका हुन्।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000