Logo
Logo

फेसबुकबाट चिनजान गर्दै एक करोड २२ लाख ठगी



काठमाडौं । एक करोड २२ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कास्कीको पोखरा महानगरपालिका–१० का ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौं महानगरपालिका–१३, ताहाचलका २८ वर्षीय रोजन भुजेल रहेका छन् ।

उनीहरूमध्ये भुजेललाई बुधबार काठमाडौंको कालीमाटी र भण्डारीलाई बिहीबार काठमाडौंको एयरपोर्ट क्षेत्रबाट महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पीडितको सामाजिक सञ्जाल फेसबुकमा आफूलाई डा. बेन्जामिन फ्रान्कलिन भनेर चिनाउने विदेशी नागरिकले आफू प्लास्टिक सर्जन डाक्टर भएको र कोर्सका लागि मलेसिया आएकोमा आफूसँग भएको सबै रकम लुटिएको भन्दै रकम पठाई सहयोग गर्न आग्रह गरेका थिए ।

उनीहरूले सहयोग गरेमा बेलायत पुगेपछि सबै रकमको दोब्बर रकम फिर्ता दिन्छु भनि प्रलोभन देखाई भण्डारी र भुजेलसमेतको बैंक खाता नम्बरहरू प्रयोग गरी विभिन्न मितिमा भण्डारीको नामको गरिमा विकास बैंकको खातामा ७८ लाख रुपैयाँ, भुजेलको नामको नबिल बैंकको खातामा नगद नौ लाख ५० हजार रुपैयाँ र अरू मानिसबाट थप रकमसमेत गरी उक्त नगद पीडितलाई पठाउन लगाई ठगी गरेको खुलेको छ ।

उनीहरूलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्