Logo
Logo

संसद अवरोधको औचित्य छैन : भीम रावल



काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले संसद अवरोधको औचित्य भएको बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत सरकारका सबै कामकारबाही अगाडि बढिरहेकोले संसद अवरूद्धको औचित्य नभएको उनले बताएका हुन् ।

प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार यही अवस्थामा संसद चल्न नसक्ने बताएका थिए । नेता रावलले देश र जनताको पक्षमा बहस गर्ने ठाउँ संसद अवरुद्ध गर्न नहुने उनको भनाइ छ ।

उनले ट्वीटरमा लेखेका छन्, ‘संसद देश र जनताको पक्षमा बहस गर्ने र आवाज उठाउने थलो हो, सरकारका सबै कामकारबाही हुन दिई संसद अवरूद्ध गरेको भन्नुको अ‍ौचित्य छैन ।’

उनले सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्न सके मात्रै संसद अवरूद्धको औचित्य हुने पनि बताएका छन् । ‘कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्नसक्नु पर्‍यो नभए त्यसबारे जनताको आवाज उठाउन पाउनु पर्यो। अन्यथा म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर भने झैं ठहर्छ,’ उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्