Logo
Logo
माओवादीको राष्ट्रिय सम्मेलन

प्रदेश समितिको पदाधिकारी र सदस्यको संख्या बढ्यो



काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रदेश समितिको पदाधिकारी तथा सदस्यको संख्या बढाएको छ ।

माओवादी केन्द्रको कार्यालय पेरिडाँडामा आज (बिहीबार) बसेको स्थायी कमिटी बैठकले प्रदेश समितिको पदाधिकारी र सदस्यको संख्या बढाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महाराले बताए ।

उनका अनुसार अब प्रदेश समितिमा अध्यक्ष १ जना, उपाध्यक्ष ३ जना, सचिव १ जना, सहसचिव ३ जना र कोषाध्यक्ष १ जना रहने पदाधिकारी बनाइनेछ । माओवादी केन्द्रले मंसिर २५ गते प्रदेश सम्मेलन गर्दैछ । प्रदेश सम्मेलन हुनुभन्दा दुई दिन अघि बसेको स्थायी समिति बैठकले पदाधिकारी र सदस्य बढाउने निर्णय गरेको हो ।

यस्तै बैठकले प्रदेश समितिको सदस्य संख्या बढाउने निर्णय पनि गरेको छ । जसअनुसार प्रदेश नम्बर १ मा २५९, प्रदेश नम्बर २ मा २७१, वाग्मती प्रदेशमा २७५, गण्डकी प्रदेशमा २२९, लुम्बिनी प्रदेशमा २५३, कर्णाली प्रदेशमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ जनाको समिति बनाउने निर्णय भएको छ ।

यसैगरी बैठकले हाल कायम रहेका केन्द्रीय समितिका सदस्यहरुलाई मंसिर २५ गते हुने प्रदेश सम्मेलनबाट प्रदेश समितिमा जानका लागि पार्टीकोतर्फबाट बल नगर्ने निर्णय गरेको उनले बताए ।

‘केन्द्रीय सदस्यहरु स्वेच्छाले कोही तल प्रदेशमा जान चाहान्छन् भने उनको इच्छाको कुरा भयो । तर सकेसम्म हाम्रो तर्फबाट केन्द्रीय सदस्यहरु तल जानको लागि बल नगर्ने’ प्रवक्ता महराले भने ।

बैठकले माओवादी पार्टी प्रवेश गर्नेहरुको सम्बन्धमा अध्ययन गर्न देव गुरुङ, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल रहेको ३ सदस्यीय कार्यदल बनाउने निर्णय गरेको छ ।

यस्तै माओवादी केन्द्रले महिला विभाग गठन गर्ने निर्णय गरेको छ । विभागको प्रमुखमा पम्फा भुसाललाई जिम्मेवारी तोकिएको छ भने सदस्यहरु पछि थप्ने निर्णय भएको स्थायी कमिटीका सदस्य गणेश साहले बताए ।

प्रतिक्रिया दिनुहोस्