Logo
Logo

उम्मेदवारका आ-आफ्नै नारा



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन आजदेखि सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशनको उदघाटन सत्र सुरु भएसँगै विभिन्न पदका आकांक्षीहरुको आ–आफ्नै छुटाछुटै नारा सहितको प्रचार सामाग्री सहित आफ्नो पक्षमा माहोल सिर्जना गर्न खोजेका छन् ।

नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका नेताहरूले अन्तिम समयमा प्रचारलाई जोडतोडका साथ अघि बढाएका छन् । भृकुटीमण्डप क्षेत्रमा आकांक्षीहरुका प्रचारप्रसारका सामग्रीहरुले भरिएका छ । सामाजिक सञ्जालमा समेत उनीहरुले प्रचारमा जोड दिएका छन् ।

कांग्रेसले नेतृत्व र नीतिको महाधिवेशन छुट्टाछुट्टै गर्ने भएको कारण नेतृत्वको दाबी गर्ने नारामार्फत आफ्नो पक्षमा माहोल सिर्जना गर्न खोजेका छन् । कांग्रेसले १४औं महाधिवशेनको नारा ‘उत्साह, एकता र रुपान्तरण’ राखेको छ । पार्टीले सार्वजनिक गरेको पोस्टरमा ‘उत्साह, एकता, रुपान्तरण सफल बनाऔं नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ नारा रहेको छ ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहगत रुपमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । तर, दुबै समूहभित्र भने नेताहरुले विभिन्न पदमा दाबी गर्दै नाराहरु तयार पारेका छन् ।

पार्टी सभापतिमा दोहोरिन खोजेका प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले बलिया कांग्रेसको नारालाई अघि सारेका छन् । ‘बलियो कांग्रेस, समृद्ध देश सभापतिमा अब एक पटक शेरबहादुर देउवा नै वेश’ रहेको छ । गत आमचुनावमा नराम्रोसँग पराजित भएपछि देउवा नेतृत्वमा दल इतिहासमै सबैभन्दा कमजोर भएको भन्दै आलोचना हुँदै आएको छ ।

उनलाई चुनौती दिने तयारीमा रहेका रामचन्द्र पौडेलको नाममै गीत नै सार्वजनिक गरिएको छ । विमलराज क्षेत्री र टीकाकुमारी क्षेत्रीले ‘छैन नि जाल झेल, असल छवि, असल नेता रामचन्द्र पौडेल’ भन्दै गीत गाएका छन् । पौडेल र उनी निकट रहेका नेताहरुले उनको छविलाई जोड दिएका छन् ।

सभापति दाबी गर्दै आएका अर्को नेता विमलेन्द्र निधिले ‘हिमाल, पहाड र तराई मधेस, सबैको देश, सबैको कांग्रेस’ रहेको छ । सभापतिमा दाबी गर्दै आएका शेखर कोइरालाले ‘एक पटक, यसै पटक’ नाराअघि सारेका छन् । पौडेल समूहका अर्का नेता प्रकाशमान सिंहले ‘सबैको अस्तित्व ः सबैखाले पहिचान’को नारा बनाएका छन् । सभापतिमा उम्मेदवार घोषणा गरेका युवा नेता कल्याण गुरुङले ‘परिवर्तन, न्याय र समानता’को नारा अघि सारेका छन् ।

महामन्त्रीका उम्मेदवारीको घोषणा गरेका गगन थापाले अवधारणा पत्र सार्वजनिक गरेका छन् । थापाले ‘समुन्नत नेपाली, सम्मानित नेपाली’को आवधारणासहित नारा अघि सारेका छन् । त्यसैगरी महामन्त्रीका अर्का उम्मेदवार रहेका प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिमा परिवर्तन हुनुपर्ने बताएका छन् । शर्माले ‘हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ विषयलाई उठाएका छन् ।

महामन्त्रीका अर्का उम्मेदवार प्रदीप पौडेलले पुस्तान्तरण र वैचारिक रुपान्तरणको विषयलाई उठाएका छन् । ‘पुस्तान्तरणसहितको वैचारिक रुपान्तरण’ पौडेलले आफ्नो प्रचारको क्रममा भन्ने गरेका छन् ।

शर्मा र पौडेल दुवै नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष हुन् भने थापा पूर्व महासचिव हुन् । यसैगरी बिभिन्न पदका अन्य उम्मेदवारहरुले समेत अनेक नारा सहित प्रतिनिधिलाई रिझाउँने प्रयासमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्