Logo
Logo

ओली, प्रचण्ड र माधव नेपाल एकै मञ्चमा



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन स्थलमा पुगेका छन् । प्रमुख राजनीतिक दलका लगभग सबै नेता पुगिसकेपछि ओली महाधिवेशन उद्घाटनस्थल भृकुटीमण्डप पुगेका हुन् ।

सत्तारुढ गठबन्धनको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल यसअघि नै महाधिवेशनस्थल पुगिसकेका छन् । त्यस्तै जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि महाधिवेशनस्थलमा छन् ।

कांग्रेसको महाधिवेशनको उद्घाटन मञ्चले पार्टी फुटेपछि तीनतिर उभिएर आपसी अस्तित्व स्वीकार नगर्ने तहमा पुगेका तीन ठूला कम्युनिष्ट पार्टीका प्रमुख नेतालाई आमुन्ने-सामुन्ने बनाएको हो ।

तत्कालिन नेकपा भंग भएपछि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसहित तीन समूहमा विभक्त कम्युनिष्ट पार्टीका प्रमुख नेता कांग्रेस महाधिवेशनमा शुभकामना दिन पहिलोपटक एउटै मञ्चमा भेला भएका हुन् ।

ओली–प्रचण्डबीच भेट नभएको एक वर्ष भयो भने पाँच महिनायता ओली–नेपाल पनि भेट छैन । नेकपा विभाजनपछि माओवादी र एकीकृत समाजवादी करिब पाँच महिनादेखि कांग्रेससँग सत्ता सहकार्यमा छन् भने एमाले प्रमुख प्रतिपक्षी भूमिकामा छ ।

प्रतिक्रिया दिनुहोस्