Logo
Logo
कांग्रेसको १४औं महाधिवेशन

मतपरिणाम सार्वजनिक हुन १० दिनसम्म लाग्ने



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारी दर्ता सकिएको छ । मतदान गरिसकेपछि मतगणना गरेर मतपरिणाम आउन १० दिनसम्म लाग्न सक्ने बताइएको छ ।

विभिन्न पदका लागि उम्मेदवारी दर्ता भइसकेपछि उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन पश्चात सोमबार बिहान ८ बजेदेखि मतदान गर्ने कार्यक्रम रहेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको जारी १४औँ महाधिवेशनमा एक जना मतदाताले पदाधिकारी सहित १३४ जना उम्मेदवारका लागि २९ वटा मतपत्रमा मतदान गर्नुपर्ने भएको छ ।

एकजना महाधिवेशन प्रतिनिधिलाई मतदानका लागि आधा घण्टादेखि एक घण्टासम्मको समय लाग्न सक्ने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बताए ।

‘सभापति, हरेक पदाधिकारी र फरक समूहबाट उम्मेदवार बन्नेहरूका लागि छुट्टाछुट्टै मतपत्र बनाउनुपर्ने भएकाले २९ वटा मतपत्र हुन्छन् । हामीले मतपत्र खसाल्ने ठाउँहरू पनि २९ वटा नै बनाएका छौँ’ घिमिरेले भने ।

कांग्रेसको विधानमा सभापतिमा निर्वाचित हुन ५० प्रतिशत मत कटाउनुपर्ने व्यवस्था छ । कुनै पनि उम्मेदवारको ५० प्रतिशत बढी मत नआएको अवस्थामा सबैभन्दा बढी मत आउने दुई जना उम्मेदवारबीच पुनः मतदान गरिनुपर्छ ।

‘हामीले सभापतिको मतगणना मतदान समाप्त भएपछि लगत्तै सुरु गर्छौँ र कुनै पनि उम्मेदवारको ५० प्रतिशत नपुगेको अवस्थामा २८ गते यथाशीघ्र पुन मतदानको व्यवस्था गर्छौँ’ घिमिरेले भने ।

सभापतिको मतगणना राष्ट्रिय सभागृहमा सकेर बाँकी उम्मेदवारको मतगणना भने कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा गर्ने निर्वाचन समितिको तयारी छ ।

कसरी हुन्छ मतदान

महाधिवेशनस्थलमा आगामी सोमवार बिहान ८ बजेबाट मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । त्यसअघि शनिवार साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय रहेको थियो । शनिवार नै दाबी विरोधको समय सकिएपछि राति १२ बजे उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यसूची छ ।

आइतवार ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ । त्यसपछि बाँकी रहेका उम्मेदवारको नामावली प्रकाशित गरेर त्यसै आधारमा मतपत्र तयार गरिने निर्वाचन समितिले जनाएको छ ।

मतदाताको भिडका आधारमा मतदानको अन्तिम समय निर्धारण गरिने निर्वाचन समितिले जनाएको छ । मतदाताले हरेक मतपत्रमा आफ्नो उम्मेदवारको नामसँगै ठिक चिन्ह लगाएर मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ । कांग्रेसले वडा अधिवेशनदेखि नै उम्मेदवारका नाममा ठिक चिन्ह लगाएर मतदान गर्दै आएको छ ।

मतदान स्थलमा एक पटकमा करिब एक हजार जना अटाउन सक्ने व्यवस्था गरिएको छ । तीन फरक ठाउँबाट मतदाताहरू मतदान स्थलमा प्रवेश गर्ने व्यवस्था गरिएको छ । महाधिवेशनमा ४ हजार ७०० भन्दा बढी मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।

मतदान सुरु भएको ५ देखि ७ घण्टामा सकिने अनुमान गरिएको संयोजक घिमिरेले जानकारी दिए । कांग्रेस प्रतिनिधिले सभापति सहित दुई उपसभापति, दुई महामन्त्री र समावेशी सहित आठ सह–महामन्त्रीका लागि पदाधिकारीमा मतदान गर्नुपर्नेहुन्छ ।

मतदानबाट खुल्ला ३५, महिला, मधेसी र दलित ९–९, हरेक प्रदेशबाट ३ जना सहित २१, आदिवासी जनजाति १५, खस आर्य १३, थारु ४, मुस्लिम ३ र पिछडिएको क्षेत्र, अपाङ्ग र अल्पसङ्ख्यकबाट १–१ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

कांग्रेसको कोषाध्यक्षसहित ३३ केन्द्रीय सदस्य निर्वाचित सभापतिको सिफारिसमा केन्द्रीय समितिबाट मनोनीत हुने व्यवस्था छ ।

परिणाम सार्वजनिक कतिदिन ?

निर्वाचन समितिका संयोजक घिमिरेले यो महाधिवेशनमा एक साताभित्रै मतगणनाको परिणाम सार्वजनिक गरिसक्ने आफूहरूको लक्ष्य रहेको बताए । अघिल्लो महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्यहरूको मत परिणाम आउन दुई हप्तासम्म लागेको थियो ।

निर्वाचन अधिकृत एकराज पोखरेलले मतगणना सक्न बढीमा १० दिनसम्म लाग्न सक्ने जानकारी दिए । सबैभन्दा अन्तिममा खुला केन्द्रीय सदस्यको मतगणना गर्ने योजना निर्वाचन समितिको छ ।

कांग्रेसमा केन्द्रीय सदस्यको उम्मेदवार बन्न १० वर्ष क्रियाशील सदस्य भएको हुनुपर्ने पार्टी विधानको व्यवस्था छ । उम्मेदवारहरूले पार्टी कार्यालयबाट आफ्नो सदस्यता अवधि प्रमाणित गरेर ल्याएपछि मात्रै मनोनयन दर्ता गर्न पाउने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्