Logo
Logo

फुटबलबाट अगुएरो लिए सन्यास



एजेन्सी । अर्जेन्टिनी फुटबलर सर्जियो अगुएरोले सन्यासको घोषणा गरेका छन् । बार्सिलोनाबाट अक्टुबर ३० मा खेल्ने क्रममा मुटुमा समस्या आएयता उनी फुटबल मैदानबाट बाहिर थिए ।

३३ वर्षे अगुएरो बार्सिलोना जानुअघि इन्डिपेन्डेन्टे, एट्लेटिको म्याड्रिड, म्यानचेस्टर सिटीबाट खेलेका थिए । सिजनको सुरुवातमा बार्सिलोनामा आबद्ध भएका उनले सबै क्लबमा गरि ६ सय ६६ खेल खेल्ने क्रममा ३ सय ७९ गोल गरेका थिए भने १ सय ४६ एसिस्ट गरेका थिए । अगुएरोले अर्जेन्टिनाका लागि १ सय १ खेल खेल्ने क्रममा ४१ गोल र १९ एसिस्ट गरेका थिए ।

गत अक्टावेर ३० मा स्पेनिस ला लिगामा एलाभेसविरुद्धको खेलपछि उनी मैदानबाट बाहिरिएका थिए । त्यतिबेला उनी ३ महिना मैदान बाहिर रहने बताइएपनि उनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि फुटबलमा उनको भविष्य शंकास्पद बनेको थियो ।

बार्सिलोनामा उनले यो सिजन पाँच खेलमा एक गोल गरेका छन् । उनले म्यानचेस्टर सिटीका लागि ३९० खेलमा २६० गोल गरेका छन् । स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका लागि २३४ खेलमा १०२ तथा अर्जेन्टिना प्रिमेरा लिगमा इन्डिपेन्डिन्टेका लागि ५६ खेलमा २३ गोल गरेका छन् । अर्जेन्टिनाका लागि १०१ खेलमा ४१ गोल गरेका छन् ।

उनले म्यानचेस्टर सिटीबाट पाँच पटक प्रिमियर लिग, ६ पटक इएफएल कप, तीनपटक कम्युनिटी शिल्ड र एकपटक एफए कप जितेका छन् । एट्लेटिको म्याड्रिडबाट समान एकपटक युरोपा लिग र सुपर कप जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्