Logo
Logo

लयमा फर्किंदै पोखराको खेलकुद



कास्की । पर्यटकीय शहर पोखरा खेलकुद गतिविधिमा देशकै अग्रणी स्थानमा पर्दछ । यहाँ हरेक साता प्रतियोगिता हुने गर्दछन् । रङ्गशालामा दैनिक प्रशिक्षण सञ्चालन हुन्छन् ।

अधिक खेल गतिविधिका कारण पोखरालाई खेल पर्यटनको सहर घोषणा गर्नुपर्ने मागसमेत हुँदै आएको छ । एकै थलोभित्र अधिकांश खेलका आवश्यक पूर्वाधार र उहाँको प्राकृतिक सौन्दर्यका कारण राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताको केन्द्र पोखरा रङ्गशाला बनेको छ । रङ्गशाला बाहिर पनि विभिन्न खेल सञ्चालन हुँदै आएका छन् ।

खेलकुदको उर्वरभूमि महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण अन्य क्षेत्र जस्तै नराम्रोसँग प्रभावित बन्यो । खेल गतिविधि नटुट्ने रङ्गशाला सुनसान बन्यो । प्रशिक्षण र प्रतियोगिता रोकिए । खेलाडी घरमै ‘सेल्फ प्राक्टिस’को बाध्यतामा पुगे पनि अहिले विस्तारै खेल क्षेत्र पुरानै लयमा फर्किन सुरु गरेको खेलकर्मी बताउँछन् ।

केही सातादेखि यहाँ खेलकुद प्रतियोगिता सञ्चालन भएका छन् । रङ्गशालामा नियमित अभ्यास सुरु भएको छ । विगतमा वर्षेनी आयोजना हुने फुटबल, भलिबललगायतका खेलका मितिसमेत घोषणा भएका छन् ।

गत साता सम्पन्न तीन साता लामो ‘आइटिएफ गल्र्स÷ब्वाइज यु–१८ वल्र्ड ¥याङ्किङ टेनिस टुर जे–५’ अन्तर्गत सर्किट–१ र सर्किट–२ का प्रतियोगितालेसमेत खेल क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन मद्दत गरेको छ ।

यसैगरी गत महिना सम्पन्न १९ वर्ष मुनिको क्रिकेटको क्षेत्रीय छनोट प्रतियोगिताले पनि खेलकुद चलायमान बनाउन सहयोग पुग्यो । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले कोरोनाविरुद्धको खोप र त्रास कम भएपछि रङ्गशालामा खेल प्रशिक्षण र प्रतियोगिता सुरु भएको बताउनुभयो । खेलकुद पुरानै अवस्थामा फर्किन सुरु भएको भनाइ छ ।

फुटबल, भलिबल, टेनिस, बक्सिङ, कराँते, ब्याडमिन्टनलगायतका खेलका बिहान र साँझमा प्रशिक्षण नियमित सञ्चालन भएको योगीले बताउनुभयो । उहाँले भन्नुभयो, “खेल क्षेत्र पनि लामो समय कोरोनाको मारमा प¥र्यो । रङ्गशालाको गेटमा ताला लगाएर बस्नुपर्ने अवस्था आउँदा अभ्यास, प्रतियोगितालगायतका सबै कार्यक्रम रोकिए । अहिले प्रशिक्षणसँगै प्रतियोगिता पनि सुरु भएका छन् ।”

गण्डकी प्रदेशलाई नवौँ राष्ट्रिय खेलकुद आयोजनाकोसमेत जिम्मेवारी छ । अघिल्लो वर्ष तय भएको राष्ट्रिय खेलकुद कोरोनाकै कारण रोकियो । गत वर्ष रोकिएको प्रतियोगिता यस वर्ष गर्ने योजना छ ।

यद्यपि राष्ट्रिय खेलकुद परिषद्ले मिति भने हालसम्म घोषणा गरेको छैन । ढिलोमा पनि आगामी वैशाख÷जेठसम्ममा राष्ट्रिय खेलकुद हुने भनिएकाले सोही खेलाडी तयार गर्नुपर्नेछ । कार्यालय प्रमुख योगीले राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी उमेर समूहअनुसार खेलाडी वर्गीकरण गरेर प्रशिक्षण गराउन सबै प्राविधिक कर्मचारी तथा खेल सङ्घलाई आग्रह गरिएको बताउनुभयो ।

खेलकुदमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले त्राससमेत बढाएको छ । तर सबै खेलाडी तथा प्रशिक्षकलाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरिएको बताइन्छ । राजधानी केन्द्रित शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता इतिहासमै पहिलो पटक मोसफलमा झरेको छ । लिगको ६७ वर्षको लामो इतिहासमा यस वर्षको जारी लिगका तीन खेल पोखरामा हुने भएपछि खेलको माहोलसमेत बढेको छ । लिगअन्तर्गत पोखरा रङ्गशालामा पुस ३ गते मनाङ मस्र्याङ्दीले नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

यसैगरी मनाङले पुस ११ गते ब्रिगेड ब्वाइजक्लबसँग र पुस २४ गते च्यासल युथ क्लबसँग खेल्ने तालिका छ । पहिलोपटक पोखरामा लिगका खेल सञ्चालन भएपछि पोखरेली खेलकर्मी उत्साहित छन् ।

कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष मीलन गुरुङले शहीद स्मारक लिग पोखरामा सञ्चालन हुनु पोखरेलीका लागि गौरवको विषय भएको बताउनुभयो । कोरानाले प्रभावित खेल क्षेत्रमा लिग आयोजनाको तयारी हुनु र खेलका लागि खेलाडी आउन सुरु गरेसँगै माहोल बढेको उहाँ बताउनुहुन्छ ।

कास्की जिल्ला टेनिस सङ्घका सचिव नवीन श्रेष्ठले गत साता सम्पन्न ‘आइटिएफ गल्र्स÷ब्वाइज यु–१८ वल्र्ड ¥याङ्किङ टेनिस टुर जे–५’ प्रतियोगिताले खेलकुदलाई चलायमान बनाएको बताउनुभयो ।

विभिन्न १० देशका ८८ जना खेलाडीसहित उनीहरुको परिवारका सदस्य गरी ३०० जना भन्दाबढीको तीन साता लामो पोखरा बसार्इंले खेल पर्यटन प्रवद्र्धनमा समेत मद्दत पुगेको बताउँदै उहाँले भन्नुभयो, “पोखरा रङ्गशालाको टेनिस कम्प्लेक्समा सम्पन्न अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताले खेल क्षेत्रमा ठूलो योगदान गरेको छ । यसले खेलकुद विकाससँगै पर्यटनमा समेत मद्दत पुग्यो ।”

जिल्ला टेनिस सङ्घले अन्तर्राष्ट्रिय टेनिस महासङ्घ९आइटिएफ०सँगको सहकार्यमा टेनिसको प्रतियोगिता गरेको थियो । सहारा क्लब पोखराले वर्षेनी आयोजना गर्ने मोफसलको प्रतिष्ठित आहा÷रारा गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता पनि नजिकिँदै छ । टाइगर ग्रुपको आयोजनामा आगामी पुस २६ देखि माघ १ गतेसम्म पोखरामा दोस्रो संस्करणको ‘आमन्त्रित खुला क्लब च्याम्पियनसिप पुरुष÷महिला राष्ट्रिय’ भलिबल प्रतियोगिता हुँदैछ ।

यसका अलावा विभिन्न क्लब तथा सङ्घसंस्थालेसमेत फुटसल, ‘सेभेन ए साइड’ फुटबललगायतका प्रतियोगिता सुरु गरेकाले खेलकुद माहोल बढेको छ । रासस

प्रतिक्रिया दिनुहोस्