Logo
Logo

निर्मला कुर्मी वेपत्ता प्रकरणमा करोडौंको चलखेल, सीडीआदेखि सांसदसम्म सेटिङमा



काठमाडौं । नेपालगञ्जकी निर्मला कुर्मी बेपत्ता प्रकरणको अनुसन्धानमा प्रहरीको लापरबाहीले पछिल्लो समय प्रहरी मात्र नभई सरकार नै बदनाम भइसकको छ । निष्पक्ष अनुसन्धानको माग गरी तीन महिनादेखि नेपालगञ्जका महिला अधिकारकर्मी आन्दोलनमा छन् । अहिले पनि उनीहरु काठमाडौंको माइतीघरमा बसेर धर्ना दिइरहेका छन् ।

प्रहरीकै पूर्वहवल्दार रमेश थापाको सेटिङमा यो घटनाको अनुसन्धानमा प्रहरीले चलखेल गरेको स्रोत बताउँछ । सोही कारण प्रहरीको अनुसन्धान विश्वसनीय हुनसकेको छैन । बेपत्ता रहेकी कुर्मीको जग्गा हत्याउनलाई एक समूहले उनलाई बेपत्ता बनाएको स्थानीय बताउँछन् । उनको केही जग्गा पूर्व हवल्दार थापाको नाममा दर्ता भइसकेको समेत खुलेको छ ।

सांसद बादशाह कुर्मी र थापाकै योजनामा सो घटना भएको अनुसन्धानमा देखिएपछि बाँके प्रहरी, सरकारी वकिल लगायतले मुद्दा डिसमिस गराउने प्रयास गरिरहेका छन् ।

निष्पक्ष छानबिनको माग गरी रुबी खान समूहले गरेको आन्दोलनपछि गृह मन्त्रालयबाट सहसचिव हिरा रेग्मीको अध्यक्षतामा बनेको छानबिन समितिले निर्मलाको मृत्युपछि उनको ४ बिघा ८ कटठा जग्गा र २ कठ्ठा जग्गामा बनेको पक्की घरसमेत नेपाल सरकारको नाममा आउने उल्लेख छ ।

किनकि, उनको अपुताली खाने व्यक्ति कोही छैनन् । उनका श्रीमान र बच्चाको समेत यसअघि रहस्यमय रुपमा मृत्यु भएको थियो । उनीसमेत बेपत्ता छन् ।

नेपालगञ्जमा रहेको उनको जग्गाको मुल्य करोडौं छ । सो छानबिन समितिले निर्मलाको सम्पत्ति कसरी रमेश थापाकी श्रीमती रत्नादेवी थापाको नाममा पुग्यो भनेर छानबिन गर्न सिफारिस भएपनि त्यसतर्फ ध्यान दिइएको छैन ।

निर्मलाको जग्गा रमेश थापाको बैनी राधादेबी बिष्टको नाममा पहिले नामसारी गराएर पछि राधादेबीबाट रमेश थापाको श्रीमती रत्ना देबी थापाको नाममा गएको देखिन्छ । जग्गा लिँदा अदालतमा समेत लेनदेनको कागजात गराएर अनेकौ जालझेलको कागजात बनाइएको पाइएको छ ।

पूर्वहवल्दार थापा अदालत र प्रहरीमा यस्तै विवादास्पद जग्गाको कारोबार गरेर करोडपति भइसकेका छन् । अहिले पनि उनले बाँकेका सीडीओ सूर्यबहादुर खत्री, एसपी श्याकृष्ण अधिकारी, डीएसपी मधुसुदन न्यौपाने, सरकारी वकिलका हाकिम वासुदेव शर्मा लगायतलाई सेटिङ मिलाइएका छन् । सोही डिलका कारण प्रहरीले निष्पक्ष अनुसन्धान गर्न नसकेको हो ।

निर्मला कुर्मीको बेपत्ता घटनामा नेपाली कांग्रेसका बादशाह कुर्मीसमेत मिलेर अनेक प्रपञ्च रची भारतमा निर्मलाले बिवाह गरेको र उतै कालगतीले मरेको कागजात देखाएर केही मानिससमेत खडा गरि प्रहरी मार्फत सरकारी वकीलको कार्यालयमा पेश गरेका छन् ।

जबकि मधेशी समुदायको महिलाले ५०-५२ बर्षको उमेरमा दोस्रो विवाह गर्ने सम्भावना निकै कम छ । यदि, विवाह गरेको अवस्थामा उनले किन आफ्नो घर जग्गा बिक्री गरिनन् ? भन्ने प्रश्न उठ्छ ।

यो चलखेल रुबी खानको समूहलाई जानकारी भएपछि उनीहरुलाई आर्थिक प्रभावमा पार्ने प्रयास भएको थियो । पछि कुरा नमिलेको स्रोत बताउँछ । भूमाफिया गिरोहका नाइकेका रुपमा चिनिने रमेश थापाले केस मिलाउन बिगतमा आफना सम्बन्ध भएका ब्यक्तिहरु समेत प्रयोग गरेर प्रहरी, जिल्ला प्रशासन र सरकारी वकिलको कार्यालयमा सेटिङ गरेर कागजपत्र कमजोर पारेर जग्गाको बिषयमा कुनै खोजतलास नगरेर निर्मलाको कालगतीले मृत्यु भएको भारतबाट डकुमेन्ट बनाएका हुन् ।

सोही कारण आरोपीहरुलाई पक्राउ गरेको जस्तो गरी मुद्दा नचलाई छाडिएको हो । यसको सेटिङ गृह मन्त्रालयसम्म भएको आशंका गरिएको छ । सांसद कुर्मी नेपाली कांग्रेसका सांसद भएकाले उनले गृह मन्त्रालयमा प्रभाव बढाएर अनुसन्धान प्रभावित बनाएका हुन् । विवादास्पद पृष्ठभूमि भएका एसपी अधिकारीका कारण यो घटनामा सिंगो प्रहरी बदनाम भएको छ ।

प्रतिक्रिया दिनुहोस्