Logo
Logo

अखिलका सहसंयोजकद्वारा प्रधानमन्त्री ओलीको विरोध


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, १० जेठ ।
निजी कलेज सञ्चालकको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको विषयमा सत्तारुढ नेकपा निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले आलोचना गरे्का छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले प्रधानमन्त्रीको नाम नलिईकन शैक्षिक व्यापारीले आयोजना गरेको कार्यक्रममा गएकोमा असहमति व्यक्त गरेका हुन् । तामाङ दुई विद्यार्थी एकतापछि अनेरास्ववियूको सहसंयोजक को जिम्मेवारीमा छन् । संयोजक नदिइएकोमा उनी असन्तुष्ट छन् ।


सामाजिक सञ्जाल फेसबुक मार्फत शैक्षिक व्यापारीले आयोजना गरेको कार्यक्रममा सरकारका जिम्मेवार व्यक्ति जानु शोभनीय नभएको बताए । उनले निजी शैक्षिक संस्थालाई वैधानिकता नभएर नियमन र नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् । उनले लेखेका छन् ’निजी क्षेत्रलाई वैधानिकता होइन, सरकारले नियमन र नियन्त्रण गर्नुपर्छ । संविधान प्रदत्त शैक्षिक अधिकारको कार्यान्वयन गर्दै सार्वजनिक शिक्षाको स्तर उन्नति र गुणस्तर, अभिवृद्धिका निम्ति शिक्षामा पर्याप्त बजेट विनियोजन गरिनुपर्छ । शैक्षिक व्यापारीहरूको कुनै पनि कार्यक्रममा सरकारका जिम्मेवार व्यक्ति सहभागी हुने कुरा बिलकुल शोभनिय विषय होइन ।’

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार निजी क्षेत्रले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए । सो कार्यक्रममा प्रधानमन्त्री ओलीले अब निजी शैक्षिक संस्थाहरु विस्तारै बन्द हुँदै जाने बताएका थिए । सरकारी स्कुल तथा कलेजको शिक्षा नै बलियो हुँदै गएकाले निजी शैक्षिक संस्था आफैं बन्द हुने उनको भनाई थियो । यद्यपी शिक्षामा निजी क्षेत्रको लगानीलाई सरकारले निरुत्साहित नगर्ने उनले बताए ।
निजी शैक्षिक संस्थाको कार्यक्रममा प्रधानमन्त्री जाँनै नहुने भनेर आफ्नै प्रधानमन्त्रीको आलोचना गर्ने तामाङको टिप्पणी अपरिपक्क भएको भनेर बिद्यार्थी नेताहरुको प्रतिक्रिया छ । संयोजक नबनाएको कुन्ठा सार्वजनिक गरेको कतिपय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्