Logo
Logo

खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्न माग



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का ६ जना सदस्यले राष्ट्रिय टिमका चार खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गरेर सदस्यहरु क्यान कार्यसमिति सदस्य ऋषिराम गौतम, अमितवीर पाण्डे, करन महतरा, सञ्जयराज सिंह र छुम्बी लामाले राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीको जिम्मेवारी खोस्ने तथा खेलाडीहरु सोमपाल कामी र कमल सिंह ऐरीलाई सेन्ट्रल कन्ट्र्याक्टबाट हटाउने क्यानको निर्णय फिर्ता लिन माग गरेका हुन् ।

पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘कार्यसमितिको वैठकमा एजेण्डा वितरण नगरी आफूखुसी प्रस्तावहरू ल्याएर छलफल गर्ने, निर्णय पनि आफ्ना अनुकूलतामा लेख्ने तथा कतिपय निर्णयहरू छलफल नै नगरी लेख्ने तथा हामी सदस्यहरूले समेत त्यस्ता निर्णयहरू प्रेस विज्ञप्तिमार्फत थाहा पाउनुपर्ने अवस्था बनेको छ ।’

कार्यसमितिको बैठक भएकै दिन निर्णयहरू नलेख्ने तथा एउटा बैठकको निर्णय अर्को बैठकमा समेत जानकारी नगराउँदा आसहमति हुँदा हुँदै पनि आफ्ना धारणा राख्ने अवस्था नरहेको विज्ञप्तिमा उल्लेख छ ।

विञप्तिमा भनिएको छ, ‘तर, क्रिकेट संघ जसरी चलेको छ, यसले विधि र पद्दतिबाट चलेको छ कि नेतृत्वकर्ताको स्वेच्छाचारितामा भन्ने प्रश्न गम्भीररूपमा उठ्दै आएको छ । ‘नेपालमा सञ्चालन भएको ट्राइ–नेशन टि–२० क्रिकेट प्रतियोगितामा विजयी भएका खेलाडीहरुलाई पुरस्कार रकम उपलब्ध गराउन पहल गर्नुको साटो अनुशासनको नाममा नियोजित ढंगले राष्ट्रिय क्रिकेट खेलँडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गर्दछौं ।’

यसअघि उनीहरुले खेलाडीलाई कारबाही गर्ने गरी क्यानले गरेको निर्णयमा नोट अफ डिसेन्ट लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस्