महाधिवेशनको भीडमा बेपत्ता छोराहरू खोजिरहेका भीमबहादुर… « Drishti News – Nepalese News Portal
Logo

महाधिवेशनको भीडमा बेपत्ता छोराहरू खोजिरहेका भीमबहादुर…


रमेश लम्साल


काठमाडौं । झापाका भीमबहादुर बस्नेतले जीवनको सात दशकको यात्रामा अनेकन हण्डर ठक्कर व्यहोर्नुभयो । जीवन व्यवहार सिके । तर, कहिल्यै निराश भने हुनु परेन । पाँच भाइ छोरा जन्मँदा उहाँलाई संसारकै सबैभन्दा बढी खुशी मिलेको थियो । किनकि, प्रकृतिको वरदानरुपी सन्तान कुनचाहिँ बाबुलाई घटीबढी लाग्ला र ?

आफूलाई भन्दा बढी माया गरेको छोराहरू सामन्ती सत्ताले बेपत्ता पारिदिँदा कुन बाबु चैनले निदाउन सक्ला र ? भीमबहादुरलाई पनि यस्तै भएको थियो । माइलो पुष्पराज र कान्छो धीरेन्द्र बस्नेत विसं २०६० मङ्सिरदेखि बेपत्ता छन् । न त लाश देखियो, न तिनको सास नै भेटियो । सत्ताका विरुद्ध आवाज उठाएकै कारण, राज्यका विरुद्ध विद्रोहको झण्डा बोकेकै कारण बेपत्ता पारिएका छोराहरूले रोजेको बाटो अँगाल्न एउटा बाबु अभिशप्त भयो ।

तत्कालीन शाही सेनाको भैरवनाथ गणबाट बेपत्ता भएका छोराको पदचाप पछ्याउँदै जाँदा भीमबहादुरलाई दह्रो हृदय भएको बाबु बनाइदियो । छोराको खोजीमा काठमाडौँका सडक नाघ्दा आइपरेको हैरानी अझै भुल्नुभएको छैन उहाँले । तत्कालीन शाही सेनाको ब्यारेकदेखि मानवअधिकार आयोगसम्मको म्यारथुन दौड धेरै पुरानो भएको छैन ।

विस्तृत शान्ति सम्झौता भएको पनि लामो समय भयो । तर भैरवनाथ गणबाट हराएका छोरा फर्केर आएका छैनन् अझै । सम्झौतामा ६० दिनभित्र पुष्पराज र धीरेन्द्रजस्तै बेपत्ता छोराछोरीको अवस्था पत्ता लगाउने उल्लेख भए पनि त्यो दिन कहिल्यै आएन । राजनीतिक व्यवस्था बदलियो, तर अवस्था भने बदलिएन ।

न त पुष्पराजले बा भन्दै बोलाउँदै आउनुभयो । न कान्छा धीरेन्द्र मुस्कुराउँदै आउनुभयो । २७ महिना बेपत्ता भएको वीरेन्द्र फर्केर आउनुभयो । यातना, पीडा र ज्यादति भोगेर नाफाको जिन्दगी लिएर वीरेन्द्र फर्केजस्तै दुई भाइ पनि आउलान् कि भन्ने झिनो आश छ अझै पनि उहाँलाई ।

एउटा बाबु, अझै पनि छोरो फर्केर आउँछ कि भन्ने कल्पनामा बसिरहेको छ । छोरो त फर्केर आएन आएन । तर छोराले बोकेको विचार कसरी छाड्न सक्थ्यो र एउटा बाबुले । उहाँ लगातार लागिपरिहेकै हुनुहुन्छ । किनकी सन्तानको मायाभन्दा ठूलो संसारका अरु कुनै माया छैन । त्यस्तै माया छ भीमबहादुरलाई माओवादी पार्टीको ।

राजधानीमा नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन चलिरहेको छ । महाधिवेशनमा त्यही पीता भीमबहादुर पनि सल्लाहकार समितिको सदस्यका रूपमा प्रतिनिधिका रूपमा उपस्थित छ । महाधिवेशनमा साइलो छोरा सुरेन्द्र र काइलो वीरेन्द्र पनि सँगै प्रतिनिधि हुनुहुन्छ । उपत्यका विशेष प्रदेशको सचिवका रूपमा सुरेन्द्र महाधिवेशनमा प्रतिनिधि हुनुहुन्छ । अखिल (क्रान्तिकारी)को पूर्वउपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो सुरेन्द्र । यस्तै क्रान्तिकारीको महासचिवको भूमिका निर्वाह गर्नुभएका वीरेन्द्र प्रदेश नं १ को प्रदेश सदस्यसँगै प्रतिनिधि हुनुहुन्छ ।

तर भीमबहादुरलाई महाधिवेशनको हलमा पुष्पराज र धीरेन्द्र पनि भेटिन्छ कि जस्तो लाग्छ । पार्टी नेतृत्वलाई एउटा महाधिवेशन प्रतिनिधिका रूपमा यही प्रश्न सोध्न मन छ, उहाँलाई । जेठा छोरा तीर्थराज पनि माओवादीकै राजनीतिमा सक्रिय हुनुहुन्छ । तीर्थराज दमक नगरसमितिको सचिवका रूपमा कार्यरत हुनुहुन्छ । देशमा राजनीतिक परिवर्तन भयो । शाही सेना चलाउने राजतन्त्र इतिहास भयो । माओवादी शान्ति प्रक्रियामा आयो । गणतन्त्र, सङ्घीयता, समावेशी, समानुपातिक प्रतिनिधित्व पनि लागू भयो ।

विसं २०२८ को झापा विद्रोह फैलिएको जिल्लाका बासिन्दा रहनुभएका बस्नेतका छिमेकी केपी शर्मा ओली माओवादी अध्यक्ष प्रचण्डको समर्थन र सहयोगमा दुई–दुई पटक प्रधानमन्त्री पनि बन्नुभयो । छिमेकी नै प्रधानमन्त्री भएपछि त बेपत्ता भएका छोरा फर्केलान् कि भन्ने आश थियो उहाँलाई । तर दुई–दुईपटक जनप्रतिनिधि थलो प्रतिनिधिसभा विघटन गरेपछि प्रतिगमनको यात्रामा ओली लागे भन्नेमा भीमबहादुर अरुहरूजस्तै सहमत हुनुहुन्छ ।

माओवादी झण्डामा विद्रोहको गीत गाउन लगाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुईपटक प्रधानमन्त्री बन्दा पनि त्यस्तै आशा थियो । तर राजनीति चक्रव्यूहमा फसेपछि न त बेपत्ताहरू फर्किएर आए, न शान्ति सम्झौतामा भनिएको ६० दिन नै आयो ।

जे भए पनि पार्टीको गति र मति सुधार्ने लक्ष्यका साथ ७१ वर्षको उमेरमा पनि भीमबहादुर लागिपर्नुभएको छ । सल्लाहकारको हैसियतमा पार्टीलाई राम्रो बनाउने सपना छ भीमबहादुरको । जनताको सपना, जनयुद्धको आर्दश नेतृत्वलाई सम्झाउने चाहना छ । महाधिवेशन कर्मकाण्डमा परिणत नहोस् भन्ने सदीक्षा पनि छ । माओवादीको आदर्श कहाँ कसरी चुकेको हो त भन्ने सवालको जवाफ खोज्ने मन छ उहाँलाई ।

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने र बेपत्ताको खोजी गर्ने विषय कहिले पूरा हुन्छ भन्ने सोध्ने चाहना छ उहाँलाई । सोमबार दिनभर कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा पार्टी अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन सुनेपछि भने उहाँलाई पार्टी सप्रिन्छ कि भन्ने लागेको छ ।

सुरेन्द्रका अनुसार बुबाको सदीक्षा भनेको पार्टीले सहिद, बेपत्ता र घाइते योद्धाको सपना नभुलोस् र ती वर्गको पक्षमा उभियोस् भन्ने नै चाहनुहुन्छ । “हामी छोराहरूमा भन्दा उहाँको बुझ्ने शैली अझै परिपक्व छ । वर्ग र धरातल पार्टीले नभुलोस् भन्ने बुवाको चाहना छ ।”

बेपत्ता परिवार समाज सहसंयोजकको भूमिकामा समेत रहेर काम गर्नुभएका भीमबहादुर शान्ति प्रक्रियाका कामले पूर्णता पाओस्, हराएकाहरूको अवस्था पत्ता लागोस् र त्यसमा पार्टी नेतृत्वले विशेष ध्यान देओस् भन्ने चाहनहुन्छ । अनुहारमा बुढ्यौलीको रेखाले छोपे पनि माओवादीलाई बुढ्यौली नलागोस्, सधैँ युवा नै भइरहोस्, देश जनता र परिवर्तनको सपना पूरा गर्नेमा केन्द्रित होस् भन्ने उहाँको चाहना छ ।

सोमबार अध्यक्ष प्रचण्डले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमा आजदेखि समूहगत छलफल हुन लागेको छ । सो छलफलमा समेत भीमबहादुरले आफ्ना यस्तै धारणा राख्ने सोच बनाउनुभएको छ । त्यसो त अध्यक्ष प्रचण्डको प्रतिवेदनमा सहिद, बेपत्ता योद्धालाई सम्मान गर्न सबै स्तरका पार्टी समिति, जबस मोर्चा विभागले नियमित कार्यक्रम गर्नुका साथै आ-आफ्नो ठाउँबाट राज्यको तर्फबाट समेत समुचित सम्मानको व्यवस्थाका निमित्त दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने उल्लेख गर्नुभएको छ ।

यस्तै प्रतिवेदनमा शान्ति प्रक्रियाका बाँकी काम मुख्यतः सत्य निरुपण र बेपत्ता छानबिनसम्बन्धी काम टुङ्गो लगाउन भइरहेको ढिलाइका विरुद्ध सबैतिरबाट आवाज उठाउनुका साथै यसमा सहमत हुने सबै राजनीतिक र सामाजिक सङ्घसंस्था एवं अन्तर्राष्ट्रिय सहयोगीसँग समेत सहकार्य गर्दै शान्ति सम्झौताको मर्म र भावनाअनुसार यसलाई अविलम्ब टुङ्गोमा पु¥याउने विषय समेटिएको छ ।

प्रदेश नं १ कमिटी सदस्यसमेत रहनुभएका वीरेन्द्रका अनुसार माओवादीको काँधमा अहिलेको राजनीतिक कोर्षलाई फरक ढङ्गबाट लैजाने गरी महाधिवेशनले कार्यदिशा तय गर्नुपर्ने जिम्मेवारी आएको छ । समाजको सङ्कटलाई हल गर्न अब माओवादीले अहिलेसम्मको निरन्तरतामा ब्रेक गरेर नयाँ निरन्तरतामा जानुपर्ने उहाँको भनाइ छ । उहाँका अनुसार पार्टीले ल्याउने नीति–कार्यक्रममा समृद्धि र स्थायित्वको एजेण्डा हुनुपर्ने छ ।

दाइ र भाइले रोजेको मुक्तिको बाटोमा नै हिँडिरहनुभएका सुरेन्द्र र वीरेन्द्रसँगै पिता भीमबहादुरको एउटै आश छ माओवादी माओवादी नै रहिरहोस् । जनताको अग्रदस्ता बनिरहोस् । परिवर्तनको एजेण्डा बनिरहोस् । जनताको जीवनस्तरमा पनि परिवर्तन ल्याओस् । आठौँ महाधिवेशनले त्यही दिशानिर्देश गरोस् । के भीमबहादुरहरूजस्तै छोराछोरी बेपत्ता पारिएका मातापिताले कहिलेसम्म आँशु पिएर बाँच्नुपर्ने हो ? माओवादी नेतृत्वले कहिले देला चित्तबुझ्दो जवाफ ? सवाल जति महत्वपूर्ण छ जवाफ पनि उत्तिकै महत्वपूर्ण छ । रासस

प्रतिक्रिया दिनुहोस्