Logo
Logo

सर्लाहीको ईश्वरपुरमा निषेधाज्ञा



सर्लाही । सर्लाहीको ईश्वरपुरमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । प्रहरीको गाडीको ठक्करबाट स्थायीयको मृत्यु भएको विषयलाई लिएर तनाव बढेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले मंगलबार दिउँसो ३ बजेदेखि बुधबार राति ७ बजेसम्मका लागि निषेधाज्ञाको आदेश जारी गरेको हो । निषेधाज्ञाको समयमा घरबाहिर हिँडडुल गर्न रोक लगाइएको छ ।

इलाका प्रहरी कार्यालय केशरजंगबाट पूर्व ईश्वरपुर नगरपालिकाको वडा नम्बर ४ सागरनाथ टोलसम्म र पश्चिममा ईश्वरपुरको वडा नम्बर ८ रामपुर टोलसम्म निषेधाज्ञा जारी गरिएको छ ।

यस्तै, इलाका प्रहरी कार्यालय केशरजंगबाट उत्तर ईश्वरपुर नगरपालिकाको वडा नम्बर ५ सखुबानी टोलसम्म तथा दक्षिणमा वडा नम्बर ९ खोरिया टोलसम्म निषेधाज्ञा जारी गरिएको छ ।

प्रहरीको गाडीले ठक्कर दिँदा स्थानीय व्यवसायी रामकुमार महतोको मृत्यु भएपछि स्थानीय वासिन्दाले लगातार प्रदर्शन गर्दै आएका छन् । सोमबार स्थानीय वासिन्दाले प्रहरीको गाडीसमेत जलाइदिएका थिए ।

इलाका प्रहरी कार्यालय केशरगंजको गस्तीमा हिँडेको भ्यानले आइतबार राति ९ बजेतिर ईश्वरपुर नगरपालिका वडा नम्बर ७ मा ठक्कर दिँदा ना. ४३ प ५०१८ नम्बरको मोटरसाइकलमा सवार ईश्वरपुर नगरपालिका–५ का महतोको मृत्यु भएको थियो । ठक्करबाट गम्भीर घाइते उनको उपचार गर्दागर्दै राति नै मलंगवा अस्पतालमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्