Logo
Logo
माओवादीको आठौँ महाधिवेशन

प्रचण्डपथ स्थगन हुँदा विचलन : हरिबोल गजुरेल



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले प्रचण्डपथ स्थगन हुनुले पार्टीमा विचलन देखापरेको टिप्पणी गरेका छन् ।

माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनको बन्दसत्रमा नेता गजुरेलले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि १९ बुँदे सुझाव राख्दै यस्तो टिप्पणी गरेका छन् ।

प्रचण्डको राजनीतिक प्रतिवेदनलाई परिमार्जन र भावी दिनमा कार्यान्वयनमा कुनै कमी नआओस् भन्नका लागि बुँदागत सुझाव दिएको उल्लेख गर्दै उनले प्रचण्डपथ स्थगन हुँदा पार्टीमा विचलन उल्लेख गरेका छन् ।

शान्तिप्रकृयामा आएपछि बालाजुको विस्तारित बैठक, खरिपाटीको राष्ट्रिय भेला, पालुङटारको विस्तारित बैठक र बिराटनगर राष्ट्रिय सम्मेलनको दौरान विचार, नीति र संगठनमा सम्झौता गर्दै जाँदा समस्या भएको गजुरेलको निष्कर्ष रहेको छ ।

शान्तिप्रकृयापछि वाद–प्रतिवाद–संवादको द्वन्द्वात्मक प्रक्रिया अवरुद्ध हुँदा विचारको विकास पनि हुन नसकेको उल्लेख गर्दै गजुरेलले लेखेका छन्, ‘बालाजु विस्तारित बैठकको ‘मुखमा चुनाव, दिमागमा विद्रोह’ को सारसंग्रहवादी संश्लेषणबाट सुरु हुँदै राष्ट्रियस्तरको छलफल विना नै प्रचण्डपथको स्थगन हुँदा गम्भीर विचलन पैदा भयो ।’

चितवनमा सम्पन्न एकता महाधिवेशन, चौथो विस्तारित बैठक, दोस्रो राष्ट्रिय सम्मेलन र फुन्टीवाङ बैठकमा संघर्ष निकै चर्को भएको स्मरण गर्दै उनले त्यसबेला पार्टीले विचार र नीतिमा सम्झौता नभएको उल्लेख गरेका छन् ।

त्यसैको परिणाममा नेतृत्वको स्थापना, प्रचण्डपथको रुपमा विचारको संश्लेषण, दुम्ला बैठकको २१औं शताब्दीमा जनवादको विकास र फुन्टीवाङ र लावाङको संघर्षलाई झेल्दै चुनवाङ बैठकमा संश्लेषित लोकतान्त्रिक गणतन्त्रको कार्यनीतिसम्ममा वैचारिक विकास र स्पष्टताले मूर्त रुप लिएको उनको ठहर छ ।

तर, शान्तिप्रकृयामा आएपछि माओवादीमा सिद्धान्त र व्यावहारको सन्तुलन कमजोर हुँदै गएको गजुरेलको निष्कर्ष छ ।

यस्तै नेता गजुरेलले डा. बाबुराम भट्टराईलाई पार्टी अध्यक्ष बनाउने अध्यक्ष प्रचण्डको तत्कालीन सोच दूरदर्शी रहेको उल्लेख गर्दै भनेका छन्, ‘तत्कालीन एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठकमा डा.बाबुराम भट्टराईलाई अध्यक्ष बनाउने नेतृत्वको सोच दूरदर्शी थियो ।’

सुझावको १८ नम्बर बुँदामा नेता गजुरेलले लेखेका छन्, ‘यो अभ्यासमा जान पार्टीपंक्ति तयार नभएपछि अध्यक्ष ब्याक हुनुभएको हुनुपर्छ ।’

नेता गजुरेलले अध्यक्ष प्रचण्डको सोचअनुसारको उक्त प्रयोग (बाबुराम भट्टराईलाई अध्यक्ष बनाउने) कस्तो हुन्थ्यो भन्ने विषय दस्तावेजमा समावेश गर्नुपर्ने माग गरेका छन् । ‘यो नयाँ प्रयोग कस्तो हुन्थ्यो, अध्यक्षले यो विषय खुलाउँदा राम्रो होला’ गजुरेलले लेखेका छन् ।

महाधिवेशनको दोस्रो दिन गत सोमबार अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले विधान मस्यौंदा पेस गरेका थिए । दुवै प्रस्तावमाथि २५ वटा समूहमा छलफल भएर समूहका नेताले आ–आफ्नो सुझाव र निष्कर्ष प्रस्तुत गरिसकेका छन् । सोही क्रममा नेता गजुरेलले १९ बुँदे लिखित सुझाव पेस गरेका हुन् ।

आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले शुक्रबार दिने कार्यक्रम छ । गत सोमबारबाट सुरु भएको महाधिवेशनले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्दै सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्