Logo
Logo

एमसीसी संसदबाट पारित हुन्छ : गृहमन्त्री खाण


252
Shares

पोखरा । गृहमन्त्री बालकृष्ण खाणले सबै दलको सहमतिमै एमसीसी संसदबाट पारित हुने बताएका छन् ।

शुक्रबार पोखरामा स्थानीय सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले एमसीसी देश र जनताकै लागि भएको तर्क गर्दै त्यसमा असहमत हुने दललाई पनि सहमतिमा ल्याएर अघि बढाउने बताए । उनले एमसीसी कुनै सैन्य गठबन्धनका लागि नभएको र अनुदानको रुपमा आएको सो रकमलाई सदुपयोग गरेर अघि बढाउनुपर्ने मान्यतामा सरकार दृढ रहेको बताए ।

उनले भने, ‘नेपाल सरकारले नै प्रस्तावित गरेको, त्यो प्रयोजन कुनै सैन्य गठबन्धन हुँदै होइन। र यो नेपालको भौतिक विकासको लागि नै हो। जलस्रोतको धनी मुलुक नेपालमा अहिले अहिले प्रस्तावित भएका, निर्माणाधिन रहेका जलविद्युत आयोजनाहरुबाट विद्युत उत्पादन भईसकेपछि त्यो खपत गर्न यसलाई निर्यात गर्नका निम्ति पनि ट्रान्समिटर टावर चाहिन्छ नै । त्यो विद्युतको ट्रान्समिटर व्यवस्थापन गर्दाखेरी सडक विस्तारका लागि नै यो परियोजना ल्याइएको हो। यो फेरि हामीले तिर्नुपर्ने रकम होईन। यो त अनुदान हो ।’

उनले सबै तहका निर्वाचन समयमै सम्पन्न हुने बताएका छन् । उनले भने, ‘सबै निर्वाचनहरु निर्वाचनको समयमै सम्पन्न हुनेछन् । सरकारले शान्ति सुरक्षा प्रदान गर्नेछ। निष्पक्ष, स्वतन्त्र, भयमुक्त वातावरणमा जनताले मत दिएर, जनताबाट विश्वास पाएका जनप्रतिनिधिहरुको छनोट हुने खालको निर्वाचन समयमै सम्पन्न गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्