
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । केन्द्रीय निर्वाचन समितिले १ हजार ७ सय ४२ जना मतदाताको नामावली प्रकाशन गरेको छ ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बन्दसत्रमा नेतृत्व चयनका लागि मतदाता नामावली प्रकाशन गरिएको हो ।
बन्दसत्रबाट विधान पारित भएसँगै नेतृत्व चयनको प्रक्रिया अगाडि बढेको छ । सर्वसम्मत रुपमा केन्द्रीय समिति निर्वाचित गर्नसाँझ ५ बजेसम्म समय तोकिएको छ । सर्वसम्मत हुन नसकेको अवस्थामा मतदानबाट केन्द्रीय समिति चयन गरिने अध्यक्ष प्रचण्डले बताइसकेका छन् ।
माओवादी केन्द्रको विधानअनुसार महाधिवेशनबाट पहिलो चरणमा २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचत हुनेछ । निर्वाचित केन्द्रीय समितिले पदाधिकारी चयन गर्नेछ । त्यसपछि बस्ने केन्द्रीय समिति बैठकले स्थायी कमिटी र पोलिट्व्यूरो चयन गर्ने व्यवस्था छ ।
पारित विधानअनुसार महाधिवेशनले ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीबाट नेतृत्वको चयन हुनेछ । यसअघि केन्द्रीय समितिले १० प्रतिशत मनोनित गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्याइएको छ ।
२९९ सदस्यीय केन्द्रीय समिति महाधिवेशनले निर्वाचित गरेपछि केन्द्रीय समितिबाट ९९ सदस्यीय पोलिटव्युरो र ३३ सदस्यीय स्थायी समितिको गठन हुनेछ ।
५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ । केन्द्रीय समितिमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व हुनेछ ।














