Logo
Logo

घोडाघोडी सिमसार क्षेत्रमा जलपन्छी गणना गरिँदै



सुखड । सिमसार र रामसार क्षेत्रमा आगन्तुक पन्छी र जलपन्छी गणनाका गर्न चराकर्मी र चराप्रेमी जलाशयमा व्यस्त छन् । नेपालमा जलपन्छिको ६–६ महिनामा गणना गरिन्छ ।

शनिबारबाट कैलालीको घोडाघोडी ताल क्षेत्रमा जलपन्छी गणना सुरु गरिएको छ । घोडाघोडी सिमसार क्षेत्रमा चरा संरक्षण नेटवर्क कैलालीको आयोजनामा गणना गरिएको हो ।

जिल्लामा धेरै तालतलैया भएपनि चराहरुको वासस्थानका लागि घोडाघोडी सिमासार क्षेत्र उपयुक्त रहेकाले सो क्षेत्रमा गणना गर्न थालिएको हो । घोडाघोडी तालका मुख्य सूचक प्रजाति हरिहास, मगरगोही र जंगली धान रहेका छन् ।

चरा संरक्षण नेटवर्क कैलालीले लामो समयदेखि घोडाघोडी ताल क्षेत्रमा चराहरुको अध्ययन, अवलोकन, खोज–अनुसन्धान गरिरहेको छ । यस तालमा प्रत्येक ६–६ महिनामा चराहरु आउने जाने गर्दछन् । आउने चराहरुले घोडाघोडी ताल क्षेत्रमा पनि बच्चा कोरलेको गणक टोलीका प्रमुख दयाराम चौधरीले जानकारी दिए ।

घोडाघोडी सिमसार क्षेत्रमा उचित आहारबिहार र अनुकूल वासस्थान भएकाले आगन्तुक चराहरु यतै बस्ने गरेको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरी बताउँछन् । पछिल्लो समयमा कैलालीको घोडाघोडी ताल चराहरुका लागि महत्वपूर्ण वासस्थानका रुपमा लिइएको छ ।

जैविक विविधताले भरिपूर्ण घोडाघोडी सिमसार क्षेत्रमा आगन्तुक चरा हरिहास रैथाने भएको छ । बगाले सिमकुखुरा, नादुन हाँस, सिमकुखुरा, सिलसिले हाँस, लामा औले, राजलाहाछे, सुनजुरे हाँसलगायतका चरा सो क्षेत्रमा बचेरासहित देखा गर्न थालेको चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्