‘परम्परागत मौलिक संस्कृति भुल्नु हुँदैन’ « Drishti News – Nepalese News Portal
Logo

‘परम्परागत मौलिक संस्कृति भुल्नु हुँदैन’


दृष्टि संवाददाता


धनगढी । सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले युग परिवर्तन भएपनि मौलिक संस्कृतिलाई भुल्न नहुने बताएका छन् ।

बाजुरेली सेवा समाज धनगढीले आइतबार धनगढीमा आयोजना गरेको भुवा पर्व तथा देउडा कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

‘संस्कृति सबैका लागि अपरिहार्य रहेको छ,’ उनले भने, ‘हामी जतिसुकै विकासको क्रममा अगाडी बढेपनि हाम्रो संस्कृतिलाई भुल्नु हुँदैन । कुनै पनि देश, समाजको पहिचान झल्काउनका लागि मौलिक कला र संस्कृतिको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।’

सुदूरका पहाडी जिल्लामा भुवा पर्वको छुट्टै पहिचान रहेको बताउँदै उनले गढीमा पनि भुवा पर्वलाई स्थान दिएकोमा बाजुरेली सेवा समाजलाई धन्यवाद व्यक्त गरे ।

यस्तै, धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले सुदूरपश्चिमका तीन जिल्लामा खेलिने भुवा पर्वको व्यापक प्रचारप्रसार गर्न आवश्यक रहेको बताए । उनले भने, ‘भुवा पर्व परम्परागत धार्मिक तथा मौलिक पर्व भएकाले यसको जर्गेना गर्नु हामी सबैको उत्तिकै भूमिका रहनुपर्छ ।
उनले भुवा पर्व सबैको साझा पर्व भएकाले यसको संरक्षण, जर्गेना र प्रचारप्रसार गर्न सबैले साथ सहयोग गर्नुपर्ने बताउँदै शुभकामना व्यकत गरे ।

सुदूरपश्चिमका तीन जिल्ला (बाजुरा, अछाम, बझाङ)मा यो भव्य रूपमा मनाइदैछ । भूवा पर्व हरेक वर्ष पुस औँसीबाट सुरु हुन्छ । तरवार, ढाल नचाउँदै दमाहाको तालमा देउडा र मागल गीतका साथ खेलिने भुवा पर्वले धनगढीमा बेग्लै पहिचान बनाइसकेको छ ।

द्वापर युगमा पाँच पाण्डवले कौरवमाथि विजयी हासिल गरेपछि निकालिएको विजयी जुलुसमा तरवार र ढाल नचाउँदै खुशीयाली मनाइएको र त्यसैको सम्झनामा भुवा खेल खेल्ने चलन रहेको छ ।

यहि अवसरमा प्रदेश सरकारले सुदूरपश्चिमका तीन जिल्ला बाजुरा, अछाम, बझाङमा आइतबार सार्वजनिक बिदा समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्